सुनकोसी न्युज
माघ ४ गते शुक्रबार,२०८१
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले आफ्नै अध्यक्ष विश्वमणी सुवेदीलाई संगठनको साधारण सदस्य समेत नरहने गरि निश्कासनकाे कारबाही गरेको छ।
उपाध्यक्ष नवराज छतकुलीले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा जानकारी दिएका हुन्। उपाध्यक्ष छतकुलीले अध्यक्ष सुवेदीलाई पत्रकार महासंघको चुनावमा आफ्ना उम्मेदवारलाई हराउन विपक्षी उम्मेदवारलाई सघाएकाे, लामाे समयसम्म संगठनको बैठक नराखेको, संगठनबिरूद्ध गतिविधि गरेको र आर्थिक हिनामिना समेत गरेको आराेप लगाएका छन् ।
यसाे त, अध्यक्ष सुवेदी केही समययता आफ्नो पुरानो संगठन प्रेस चाैतारीमा प्रवेश गर्न लागेको व्यापक चर्चा हुदै आएको हाे। केही समयपहिला समाजवादी प्रेस संगठनका केन्द्रीय सल्लाहकार शान्तराम बिडारी लगायत एक दर्जन पत्रकार चाैतारी प्रवेश गरिसकेका छन् । बिडारीलाई महासंघको चुनावमा केन्द्रीय सचिवको टिकट नदिएपछि संगठन छाडेका थिए । उनको ठाउँमा उत्तर कुमार विष्ट चुनाव लडेर हारेका छन् ।
विश्वमणि सुवेदीसँगै महासचिव रामकुमार एलेन पनि चाैतारी प्रवेश गर्न लागेको प्रेस चाैतारीका एक नेताले जानकारी दिएका छन् । लामाे समय जनआश्था साप्ताहिकमा किशोर श्रेष्ठको सारथि बनेका सुवेदी जन आश्था छाडेर केही समययता एमालेनिकट अनलाइन मिडिया nepalpress.com मा कार्यरत छन् ।
Add Comment