नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ। हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो।
कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण खारेज गरिएको खनालले जानकारी दिए। प्राधिकरणले यसअघि कम्पनीलाई जेठ मसान्तको अन्तिम समयसीमा दिएको थियो।
त्यसबेला नतिरेपछि समय सारेर भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो।
ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी लाइसेन्स पाएको कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो। नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ। उपत्यका बाहिर सेवा दिंदै आएपछि काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन।
प्राधिकरणले लाइसेन्स खारेज गरेपनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्छ। यसरी पुनरावेदनमा सरकारले निर्णय गरेर सुमार्गीको पक्षमा लाइसेन्स यथावत राखिदिने ठाउँ भने कायमै छ।
Add Comment