अन्तर्वार्ता/विचार हेडलाईन न्युज

नेतृत्वमा नयाँ पुस्ता किन र कसरी लाने ?

सुनकोसी न्युज
बिदुर खड्का
२०७८ फागुन २३ गते साेमबार।
महाधिवेशनपूर्व बसेकाे स्थायी समिति बैठकले केही जिल्लामा केन्द्रीय प्रतिनिधि भन्दै केही प्रदेश सदस्यलाई ती जिल्लाको इन्चार्ज वा सहइन्चार्ज ताेकेर पठायो । त्यो त्यसबेलाको आवश्यकता हल गर्नका लागि आवश्यक थियोे हाेला। तर सबै तहका अधिवेशन/महाधिवेशन सम्पन्न भइ सबै कमिटी नयाँ निर्वाचित भइसकेको अवस्थामा त्यो केन्द्रीय प्रतिनिधि भन्ने अस्थायी अवधारणा समाप्त भइसकेको छ। केन्द्र, प्रदेश र स्थानीय संरचना बहुपदीय भएका छन् । यसले नेतृत्व अभावको अवस्था हल गरिसकेको छ। सबै संगठनमा युवा, महिला, दलित, मुस्लिम, आदिवासी जनजाति लगायतको उचित प्रतिनिधित्व गराइएको छ। यसले सबै तहका संरचना समावेशी बनाएको छ। यस्तोमा अझै पनि ती केन्द्रीय प्रतिनिधि ताेकिएकाहरू प्रति नेतृत्वको आशक्ति यतिसम्म किन ? उदेकलाग्दो छ।
२९९ जनाको जम्बाे केन्द्रीय समितिमा २३६ जनाको नाम सार्वजनिक गरिएको छ। बाकि संख्या मनाेनित गर्ने भनिएको छ। २३६ जना छान्दा नै पर्याप्त मात्रामा नेतृत्वले आफूलाई प्रतिकुल नहुनेगरि छानिसकेको छ। बाकि रहेको संख्यामा पनि उहीँ ड्याङका मानिसहरू छिराउने प्रयास भएको देखिन्छ ।
केही पुराना र निरन्तर इमानदारीपूर्वक काम गरिरहेका नेतालाई मनाेनयनमा पार्नु ठिक छ। तर पार्टीभित्र विभिन्न गुट र टावर खडा गरेर बसेकाले विधि-विधान सपक्कै मिचेर लिड्काे लगाएको देख्दा उदेक लागेर आउँछ। यतिसम्म उदाङ्गाे त सुहाउने कुरै हाेइन। आफ्नालाई केन्द्रमा लान त्यही विधि अवरोध हुदैन । तर त्यही विधि देखाएर अर्कोलाई छेकबार लगाइएकाे छ।
खासगरी टाउकोमा दुई मुट्ठी गिदी भएका मान्छेसँग गुटबन्दी र टावरबन्दी गर्नेहरूकाे सात्ताे जानेरहेछ। खाइखेलि आएको बिरासत, माैजा खाेसियला भन्ने बडाे डर हुनेरहेछ । आलोचनात्मक चेत भएका, प्रश्न साेध्न सक्ने र साथसाथै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नसक्ने सक्षम युवासँग विभिन्न बहानामा माैजा कब्जा गरेर बसेकाहरू राम्रोसँग तर्सिने रहेछन् । सर्वप्रथमत: उनीहरूलाई पैतालामुनि दबाएर उम्रिनै नदिने, पत्थर फाेडेर पिपलझैं उम्रिए भने मुन्टाे निमाेठ्ने प्रयास गर्नेरहेछन्।
पार्टीमा यस्ता केही युवाहरू छन् जाे भरखरै बनाइएको ४० वर्षमुनिकाे क्लस्टर पारगरेका छन् । पार्टीका हरेक माेर्चामा निर्णायक छन् । पार्टीको मेरुदण्डको रुपमा छन् । बिचार, राजनीति र सक्रियताका हिसाबले अब्बल छन् । तर अहिले बनाइएको विधिभित्र नपर्ने अवस्था छ। हिजो विधि अलग हुदा तपाईंको समय उमेर बाँकी छ, सिनियरलाई चान्स दिनुपर्छ, तपाईंले छाडिदिनु पर्ने भाे भनेर राेकियाे। नेतृत्वले भनेपछि हाेला क्यारे भनेर चुपचाप बसे। तर अहिले उनीहरूलाई नै स्याक गर्ने ढंगबाट ४० वर्षमुनिका २०% ल्याउने भनियो । त्यसमा अहिलेसम्म केन्द्रीय समितिमा रहेका पुराना सबैलाई यथावत राखिएको छ। यसरी पुराना यथावत राखेर नयाँ थप्दै जाने हाे भने संगठन कस्तो बन्ला। अर्कोतिर, यो विधिबाट सही मूल्यांकनमा छुटेका ४०+ का युवालाई कहिले कसरी समेट्ने भन्नेमा पार्टीको कुनै योजना देखिदैन । सक्रिय सिनियर छाडेर सालाखाला जुनियर केन्द्रमा लाँदा सिनियरकाे सक्रियतामा उही गति र तेज नरहन सक्छ। यसबाट पार्टीलाई पर्ने असरप्रति वर्तमान नेतृत्वको कुनै दायित्व छैन ?
टावर हावी हुनु राजनीतिको एउटा चरित्र हाेला। यो सँगसँगै नातागोता र  जात समात्ने राेगले झन् ठूलो समस्या निम्त्याएको छ। पार्टी जाओस् भाँडमा, परिवारलाई पार्टी र सरकारमा सेट गरिहाल्ने माैका यही हाे, अहिले नगरे पछि परिन्छ भन्ने मनाेविज्ञानले निर्लज्ज नग्न भएर नातागोता पार्टी र सरकारका विभिन्न तहमा हुल्ने प्रतिस्पर्धा छ। यसले पार्टीलाई झन् ठूलो गतिमा क्षयीकरण गरिरहेको छ। नेताहरू यस्ता काम लुकाएर गरें भन्ठान्छन्, जनताले थाहा पाइहाल्छन् र बदनाम हुन्छन् । यसको प्रभाव संगठन क्षयीकरण र निर्वाचनमा देखिन्छ ।
महाधिवेशनमा सहभागी हुने र केन्द्रीय समितिमा मनाेनयन हुने विषय प्रदेशको पदाधिकारी चुनावलाई आधार बनाइएकाे रहेछ। त्यो पनि केही टाउकामा गिदी भएका स्वतन्त्र स्वभावका निश्चित पात्र विशेषलाई राेक्न बनाइएको रहेछ भन्ने सत्य तुरुन्तै पर्दाफास भयो । प्रदेशमा उम्मेदवार भएर हारे पनि जिते पनि उनीहरू मध्येबाट धेरैजना महाधिवेशनमा प्रतिनिधि भएर तालि पड्काउने र सेल्फी खिच्ने काम गरिरहेको देखिएकै हाे। उनीहरू मध्ये केहीले केन्द्रीय समितिमा नाम दर्ज गर्न सफल भएको पनि देखिएकै छ। तर हामीलाई अहिले पनि उही जवाफ निर्लज्ज दिइरहेका छन् । यसले पार्टीको आन्तरिक एकतालाई कसरी बर्करार राख्ला !!
यसरी हेपिएका, पेलिएका, निमाेठिएका र कर्नरमा पारिएका नेता-कार्यकर्ताले कुन विश्वास र मनाेदशाले काम गर्ने ?  पलायन र पार्टी परित्यागका घटना पद नपाएर भन्दा बढी यसकारणले हुने गरेको छ। संगठनमा सबैजना विचारमा धुरन्धुर र  कुटनीतिमा पाेख्त हुदैनन् । सालाखाला क्षमताका मान्छेको पनि  पार्टीमा कम महत्त्व छैन । तर यो सत्य ढाकछोप गर्न हामी अर्थाेकै भनिदिन्छाैं।  इमानदार कर्मठ र क्षमतावान जाेदाहालाई सिध्याएर कस्तो पार्टी बनाउन खाेजेकाे हाे ? अनि यसरी बनाइएको पार्टीले नयाँ समृद्व नेपाल निर्माणको अभिभारा कसरी पूरा गर्न सक्ला ?
त्यसैले, कुनै गुटगत सन्तुलन मिलाउन बनाइएको केन्द्रीय प्रतिनिधिकाे अवधारणा हाेस् वा विद्यार्थी लगायत जनवर्गीय संगठनको अन्तर्विराेध हल गर्न ‘लाै, आजका मितिले तिमीहरू केन्द्रीय सदस्य भयाै, केन्द्रीय प्रतिनिधि भयाै’ भनेर गरिएको तथास्तु वरदान हाेस्, यी कुनै पनि कार्यले समस्या हल गर्नुको साटो झन् बल्झाएकाे छ भने अर्कोतिर नेतृत्वको अस्थिर मनाेदशा उदाङ्गाे भएको छ।
हामी कुनै पनि इमानदार कार्यकर्ता आफूलाई नेतृत्व दिने नेता यति निरीह, यति बिचलित, यति अलमल र दिशाहिन बनेको किमार्थ हेर्न चाहदैनौं । राजनीतिक उचाइ हासिल गर्नुभन्दा उचाइ हासिल गरेपछि त्यसलाई बचाउन र टिकाउनमा बढी चुनाैतिपूर्ण हुने गर्दछ। तर नेताहरूले हासिल गरेको यो राजनीतिक हाइट जाेगाउने नाममा गरेको गतिविधिले उनीहरूलाई झन् झन् रसातलमा फसाइरहेकाे छ। त्यसमा उनीहरूले म, मेरो पुस्ता र मपछिकाे पुस्तालाई समेत सँगसँगै लिएर डुबाइरहेका छन् ।
यति भनिरहँदा दाेष जति सबै अग्रभागमा रहेका नेतालाई दिएर मेरो पुस्ताले सुख पाउदैन । नेतृत्व कसले गरिरहेको छ, त्यो महत्त्वपूर्ण कुरा हाेला । तर नेतृत्वसँग सहकार्य र संघर्ष गरेर, गलत व्यवहार र विचारबिरूद्ध निरन्तर संघर्ष गरेर युवाहरूले नेतृत्वको विकल्प दिनसक्नु पर्छ। नेतृत्वको कामकारबाहीकाे आलाेचना गरेर र असन्तुष्टि मात्रै जाहेर गरेर नेतृत्व र विचारको विकल्प जन्मिदैन। सचेत युवा पुस्ताले उन्नत बैचारिक हतियारले लैस भएर उन्नत विधि र योजना सहित सचेत हस्तक्षेप गर्नसक्नु पर्छ। त्यसको लागि साझा वैचारिक बहसको फाेरम पार्टीभित्र र बाहिर बनाउन जरुरी छ। कुनै निश्चित बिचार वा वादकाे चाैघेराबाट मुक्त स्वतन्त्र विचारमा बहस चलाउन जरुरी छ । यसले स्वभाविक रुपमा माक्र्सवादी गाेरेटाे र भावभूमि प्रयोग गर्छ नै। यसले नयाँ युवा पुस्तालाई नेतृत्व लिन तयार बनाउनेछ । संघर्षको महत्त्व र दिशानिर्देश गर्दछ। उत्पादनलाई जीवनको अभिन्न अंगको रुपमा लिन सिकाउछ। विज्ञानको नियमसँग परिचित गराउदै नयाँ जिवनपयाेगी नियमकाे खाेजि गर्न सिकाउनेछ। बस्, अग्रजहरू यसमा अवरोध बन्नु हुदैन । एउटा विषय के निश्चित छ भने राजनीतिक सत्ताको नेतृत्व कसैले पनि सहजै हस्तान्तरण गर्दैन । त्यो बहुमत सदस्यहरूको निर्णयबाट मात्रै सम्भव छ। त्यो गर्न नेतृत्वलाई बाध्य बनाउन सक्ने युवाहरूको हस्तक्षेपबाट मात्र सम्भव छ र सर्वमान्य विधिबाट मात्र सम्भव छ। त्यसैले नेतासँग धेरै माग्ने, आशा गर्ने वा गुनासो गर्ने भन्दा पनि सचेत र सकारात्मक पहल र हस्तक्षेपकारी भूमिकाबाट नेतृत्वमा पुस्तान्तरण गर्ने दिशामा युवा लाग्नुपर्छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २३, २०७८