बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ वैशाख ११ गते,
प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्तो जिम्मेवार ठाउँमा बसेर सूर्य थापा जस्ता लिच्चड मान्छेले पत्रकार जातको हुर्मत लिइरहेका छन् । थापाले सरकारका काम र प्रम ओलीको बचावट गरेको, पैरवी गरेजस्तो गरेर निरन्तर सरकारको हुर्मत लिइरहेका छन् । प्रधानमन्त्रीकै अहितमा हुने अभिव्यक्ति दिइरहेका छन् । जसका कारण पटक–पटक सरकार विवादमा पर्ने गरेको छ ।
सरकार र प्रमको वचावटमा थापा नबोलेसम्म त्यो राजनीतिक विषय हुन्छ, सुधार र समाधानको सम्भावना जिवित हुन्छ । जब थापा बोल्छन्, त्यो सम्भावनाको हत्या हुन्छ । सरकारको समर्थन, ओलीको समर्थनमा रहेको जनमतलाई पनि भड्काइदिन्छन् । उनको अभिव्यक्तिशैली यति तुच्छ हुन्छ कि राम्रै कुरा पनि उनले प्रस्तुत गर्दा त्यसको उल्टो आसय प्रवाह हुने गरेको छ । यसको सिधा असर प्रधानमन्त्रीमा पर्ने गरेको छ ।
ओली नेतृत्वको बहुमत प्राप्त सरकार आज चरम अलोकप्रिय र जनआक्रोशको सिकार भैरहेको छ । त्यो थापा र थापाजस्ता बहुलट्ठीपूर्ण अभिव्क्ति दिने तोरीलाउरे सल्लाहकारहरुका कारण भएको छ । कुनै पनि विषयमा उनी बोल्नेबित्तिकै बिग्रिन्छ । तर ओली सरकार यस्ता अड्बेस्रा मान्छेलाई काखिच्यापेर हिडेको छ । कुन्दन अर्यालले थुतुनो छुराजस्तो चलाउन नसकेकै कारण ओलीले थापालाई कुन्दनको ठाउँमा भर्ती गरेका हुन् । यो मुलुक र सरकार दुबैको लागि दुर्भाग्यपूर्ण छ ।
ओलीले जति गलत र अलोकप्रिय निर्णय गरेपनि पुच्छर ठाडो पारेर त्यसको पक्षमा सिङौरी खेल्ने, आलोचकलाई मुख छाड्न थालेपछि मानमर्यादा राख्नुपर्ने सिनियर, आमाबावु कसैलाई पनि जुनसुकै स्तरमा गिरेर आमाचकारी गाली गर्न सक्ने दुस्साहस यस्ता टुप्पी तानेर बनाइएका दुईपैसे पत्रकारमा कहाँबाट पैदा हुन्छ ? थापा ओली र पोखरेलको काँधमा बसेर पिसाब उम्किउन्जेल प्रचण्ड, नेपाल, खनाल र गौतमका बिरुद्ध कुर्लिन्छन्् । तर ओली र पोखरेल उनलाई संरक्षण गरेर झन धेरै यस्तो गर्न उकासिरहेका छन् ।
यी महासयहरु खासगरी एकतापूर्व नै पार्टी एकताको बिरुद्धमा थिए । बहुमतको शक्तिशाली प्रधानमन्त्री बन्ने लालसामा ओली एकताको लागि तयार भएपनि पोखरेल र थापा हिजोदेखि आजसम्म निरन्तर पार्टी एकताको बिरुद्धमा रहेका छन् । आजसम्म उनीहरुका कुनै पनि काम र अभिव्यक्ति पार्टी एकताको पक्षमा छैनन् । एकतालाई जसरी पनि कमजोर बनाउने र भाँड्नेमा उनीहरुले नाइटोदेखिको बल प्रयोग गरिरहेको कसैबाट लुकेको छैन । ओलीको वरिपरि सबै यस्ता मुर्खहरु मात्रै रहेको देखिन्छ । हुन त ओली र पोखरेल स्वयम् जस्ता छन्, त्यस्तै मानिसहरुको उनीहरुसँग भावना मिल्ने हो र वरिपरि पनि त्यस्तै मान्छे हुने हो ।
नेपालको इतिहासमा यति बलियो सुविधासम्पन्न बहुमतप्राप्त सरकार, सरकारलाई सहयोग गरिरहेको पार्टी र अग्रज नेता, निम्छरो प्रतिपक्षी, आफूले चाहेजस्तो संविधान र व्यवस्था छ । तर पनि सरकार असफल भैरहेको छ, असुरक्षित महसुस गरिरहेको छ । भरखरै पार्टी फोड्ने अध्यादेश ल्याएको छ । चौतर्फि त्यसको बिरोध भएको छ । उनले आफ्नो गुटका मान्छे लिएर पार्टी फोड्ने तयारी गरेको प्रष्ट छ । सरकारलाई अहिले आपत बिपत परेकै कारण यो अध्यादेश ल्याइएको बताएर थापाले यसको पुष्टि गरेका छन् । कसैले उनका बिरुद्ध केही नभने पनि उनी चारैतिर आफूबिरुद्ध खतरा मात्रै देखिरहेका छन् । उनी आफ्नो हुतिहारा चरित्र ढाक्न सधैं आफूलाई घेराबन्दी गरेको, काम गर्न नदिएको भनेर भुतभुताउने गरेका छन् । त्यसको प्रवक्ता बनाएका छन् यिनै थापालाई ।
सिनियर केन्द्रीय सदस्यलाई राज्यमन्त्रीमा थचारेर जुनियर गोकुल बास्कोटाको हातमा फूल मन्त्री र सरकारको प्रवक्तजस्तो संवेदनशील अंग सुम्पिनु वानरको हातमा नरिवल दिनुजस्तो हो । सरकारका गलत कामलाई ढाछोप गर्न र बिरोध गर्नेमाथि तुच्छ शब्द प्रयोग गरेर आमाचकारी गालिगलौज गर्नसक्ने चोथाले स्वभाव भएकै कारण उनीहरुले जिम्मेवारी पाएका हुन् । अशिष्टताको अर्को नाम गोकुल बास्कोटा र सूर्य थापा बनेको छ । जसरी आलीले चुट्कीलेको उपमा पाएका छन् ।
‘पार्टीफोड’ अध्यादेश ल्याएपछि त्यसको बिरुद्ध चैतिर्फ घनघोर बिरोध भयो । अहिले उनी कुहिरोको कागजस्ता भएका छन् । आफ्ना समर्थक भनिएकाले पनि साथ नदिने देखेपछि भरखरै पार्टी फोडिहाल्ने उनको योजना तुहिएको छ । यो अध्यादेश त समाजवादी, राजपा र कांग्रेस फोड्न पो ल्याएको भनिरहेका छन् । पूर्वमाओवादीका केही नेताले मेरो असाध्यै बिरोध गरे, त्यही भएर प्रचण्डलाई आफ्नो पार्टीका मान्छे लिएर जाउ भन्न यो अध्यादेश ल्याएको पनि भन्न भ्याइसकेका छन् । निचताको यतिसारो पराकाष्टा पार गर्नसक्ने हर्कत ओलीमा रहेको छ । यही गुण थापामा पनि छ । कोरोनाले देश थिलथिलो भएको बेला, लकडाउनमा सारा जनता घरभित्र थुनिएका बेला स्वास्थ्य सामाग्री ल्यउने कुरामा समेत छोराछोरीका नाममा फर्जी कम्पनी खडा गरेर कमिशन हसुर्न उनीहरुले नै जानेका हुन्छन् ।
प्रचण्ड अहिले पार्टीभित्र लोकप्रियतामा ओलीभन्दा धेरै माथि छन् । समर्थनको हिसाबले पार्टीभित्र दुईतिहाई मत प्रचण्डको पक्षमा छ । प्रचण्डलाई ओलीले छिर्कने नहान्ने हो भने र ओलीले पार्टीको निर्णय मान्ने हो भने सरकारले गर्ने काममा अपूर्व सफलता हासिल हुने कुरामा कसैलाई द्वोविधा छैन । तर यसले प्रचण्डको लोकप्रियता झनै बढ्ने देखेर ओृली मुरमुरिएका छन् । उनी पार्टीका कुनै पनि निर्णय नमान्ने, सरकारका कुनै पनि महत्वपूर्ण निर्णय पार्टीमा छलफलै नगरी गुमराहमा पारेर सुटुक्क ल्याउने, त्यसबाट खराब परिणाम आएपछि बिरोधीका कारण यस्तो भएको भन्ने फाल्तु तर्क पेस गरेर देश डेबाउने दिशामा अग्रसर छन् । चीनको राजदुतबाट लिलामणी पौडेललाई फिर्ता बोलाउनु, हतारमा भूमिव्यवस्थापन आयोग बनाएर गुटका मान्छे भर्ती गर्नु, नियुक्ति गर्नुपर्ने ठाउँमा कि गुट वा नाता कि झापाभन्दा अन्तका मान्छे नदेख्नु, पार्टीको निर्णय लत्याउदै चरम असफल व्यक्तिलाई अर्थमन्त्री बनाउनु जस्ता क्रियाकलापले ओलीको मति प्रष्ट हुन्छ । आफ्नो बारेमा अतिसयोक्तिपूर्ण वर्णन गर्न र आलोचकमाथि हमला गर्न थापाजस्ता केही पाल्तुहरु राखेका छन्, ति निरन्तर भुकिरहन्छन्, टोकिरहन्छन् ।
सूर्य थापा स्वयम्को खासै केही औकात छैन । तर गुटको संरक्षणमा यस्तो निच काम गर्दछन् । अब उप्रान्त कहिल्यै तल ओर्लिनै पर्दैन, जनतामा निर्वाचित हुन जानै पर्दैन, यो सत्ता अब सधैका लागि हासिल भयो, त्याग्नै पर्दैन, त्यसैले अब लचिलो भएर जनताप्रति सौहार्दपूर्ण व्यवहार किन गर्ने भनेझैं गरिरहेका छन् । भ्रमको चीरनिन्द्रामा मस्त निदाएर रावणराजको सपना देखिरहेका छन् ।
थापा हदैसम्म तुच्च रुपमा प्रस्तुत हुनसक्ने भएका कारण गुटले उनकै मुखबाट विष बमन गराउने गरेको छ । नालीको पाइपबाट फोहोर निस्किएको जस्तो यिनको मुखबाट अपशब्द निस्किन्छ । नेपाली जनतालाई कहिले गिद्ध, कहिले स्याल, कहिले छौंडा, कहिले ढेडु, कहिले अरिंगाल भन्दै अपमान गरिरहेका छन् । सत्तामा बुर्कुसी मार्न पाउन्जेल यिनले नेपाली जनताको हुर्मत लिनेछन् । यसको बिकल्पमा जनता सडकमा आउने अवस्था बनिसकेको छ ।
पार्टी किकर्तव्यविमुढ अवस्थामा छ । सरकारको नेतृत्व पार्टीका लागि ‘नखाउँ भने दिनभरिको सिकार, खाउँभने कान्छा बाको अनुहार’ भने झैं भएको छ । आलोचना गरौं, आफ्नो पार्टीको सरकार, नगरौं, जनताको बीचमा जानै नहुने भैसकेको छ ।
पार्टीमा छलफलै नगरी दूरगामी महत्वका निर्णय गर्छ र कार्यन्वयन गर्न सक्दैन, अपजस पार्टीलाई जान्छ । पार्टीले गरेको निर्णय सरकार थुकेर पैतालामुनि कुल्चिन्छ । पार्टीएकताको बाँकि काममा खोंचेमात्रै थापिरहन्छ । गुटको भेलामा एउटा पक्षलाई धुलो चटाउने तानाबाना बुन्छ र निहुमात्रै खोज्न अघिसर्छ । पार्टी नेतृत्व सरकारसँग दिक्दार भएको छ ।
पार्टी एकताअघिदेखि अहिलेसम्म थापा र पोखरेलहरु कहिल्यै पार्टी एकताको पक्षमा रहेनन्, यो सबैलाई थाहा छ । उनीहरु हरबखत कसरी एकतालाई कमजोर पार्न र भाँड्न सकिन्छ भन्नेमा लागिरहेका छन् । भरखरै एकता भएको पार्टीमा दुई पार्टीका नेता–कार्यकर्ताबीच भावनात्मक एकता भएकै छैन । तर थापाहरु यो हुन नदिन दिनरात एक गरेर लागेका छन् । यसमा उनीहरुको स्वार्थछ । सके एकताको अर्कोपक्षलाई निरिह बनाइराख्ने, नसके एकता भाँड्ने । अहिले प्राप्त जनमत र सत्तालाई उनीहरु नित्य ठान्ने दुस्साहस गरिरहेका छन् । हिजो एमाले हुँदा माधव नेपालहरुलाई निरिह बनाएर राखेका उनीहरु आज प्रचण्डमाथि त्यही सुत्र प्रयोग गर्ने असफल प्रयास गरिरहेका छन् । त्यो पानीको फोका सिद्ध हुने छ । थापाहरुको प्रहार निरन्तर प्रचण्ड र प्रचण्डका निकटहरुमाथि केन्द्रित हुनु यही कारण हो ।
थापा र पोखरेल मौका पाउनासाथ प्रचण्डलाई नेता मान्दैनौं भन्न भ्याइहाल्छन् । जंगली, झोले र आतंककारी भन्न भ्याइहाल्छन् । यसरी प्रस्तुत हुन्छन् मानौं प्रचण्ड जंगलमा बाटो बिर्सिएर जंगली जनावरले लखेटिएर लखतरान परेका बेला थापा र पोखरेल फुत्त टप्केर प्रचण्डको उद्धार गरेर अहिले पार्टीको अध्यक्ष बनाएका हुन् र उनीहरुले जहाँ राख्छन् त्यहीँ चुपचाप बस्नुपर्छ । एकताको भावनाबिरुद्ध बुर्कुसी मार्ने सूर्य थापा के पशुपतिमा छाडिएका साँढे हुन् ? जनयुद्धको विरासत र त्यसको उपलब्धी जसमा आज थापाहरु बुर्कुसी मारीरहेका छन्, त्यसलाई स्वीकार गर्न उनीहरुलाई असाध्यै गारो पर्ने गरेको छ । बयलगाडा चढेरै नेपालमा यो परिवर्तन सम्भव भएको बच्कना भ्रममा बाँचेका छन् थापा र पोखरेल ।
पार्टीले फागुन १ गते जनयुद्ध तथा शहिद स्मृति दिवस मनाउने सर्वसम्मत निर्णय ग¥यो, थापाहरुको पेट पोलिहाल्यो । रुकुमजस्तो जनयुद्धको भाबर उठेको भूमिमा पुगेर जनयुद्ध दिवस किन मनाएको भनेर बुर्कुसी मार्न भ्याइहाले । जिम्मेवार नेता र कार्यकर्ताले नजोगाएको भए त्यहाँबाट बलिदानमा कोटा चुक्ता गरेका जनताले यिनको कुन हालत बनाउने थिए, कल्पना गर्न सकिन्छ । कुनै पनि फोरम, कार्यक्रम र मिडियामा थापाले माओवादीपक्ष र नेपालपक्षलाई खुइल्याउन छाडेका छैनन् ।
यसरी सबैलाई बिटुलो बनाउदै हिड्ने छुचुन्द्रोलाई ओलीले टपक्क टिपेर पार्टीको केन्द्रीय सदस्य मात्रै बनाएनन्, राजनीतिक इतिहासमा एक लेजेन्ड्रि नेतृत्व नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको प्रचार विभागको उपप्रमुख पनि बनाए । बोकाको मुखमा कुभिण्डो नअटेको भनेझैं उनले यो पदको मर्यादा कायम गर्न सकेका छैनन् । ओलीले पार्टी फोड्ने नियतसाथ ल्याएको अध्यादेशको बिरोध गर्ने पार्टीका वरिष्ठ स्थापित नेता स्थायी समिति सदस्य हरिबोल गजुरेलमाथि तुच्छ बोल्ने हिम्मत कसरी गरे ? गजुरेलले राष्ट्रिय राजनीतिमा नेतृत्व गरिरहँदा थापाले राम्रोसँग कट्टु लगाउन जानेका थिएनन् । अहिले आफ्नो गुटको संरक्षणको नाममा गजुरेलजस्ता दिग्गज नेतामाथि हिलो छ्यापिरहेका छन् । यो बल उनमा ओलीले नै पैदा गरिदिएका हुन् ।
यसो त उनी आफैं पनि पार्टीमा पहिला खनाल गुटमा टाँसिएर बसेका मान्छे हुन् । पार्टी एकताअघिसम्म बामदेवको फेरो समातेर ओलीमाथि धावा बोल्थे । अहिले ओली सरकारमा आएपछि तिनै ओलीको सुरुवालको तुना समातेर नेपाल, गौतम र प्रचण्डमाथि झम्टिरहेका छन् ।
संगठन, विचार र सिद्धान्तमा खिया लागेपछि, विश्वास नरहेपछि मान्छे षडयन्त्रको सहारामा आउँछ, काइते तर्क गरेर सिनियरको मानमर्दनमा ओर्लिन्छ । सबैलाई सिध्याएर शासन गर्ने सर्वसत्तावादी तानाशाह बन्ने सपना देखिरहन्छ । ओली सरकार अहिले त्यही नियति भोगिरहेको छ र घोडा बनाएका छन् थापाहरु जस्ता कुठाउँमा मुख फाटेकालाई ।
Add Comment