समाचार

मन्त्रीविरुद्ध विमानभित्रै हुलहुज्जत: कानूनी रूपमा गलत, एक वर्ष कैद र एक लाखसम्म जरिवाना !

धनगढीबाट नेपालगञ्ज हुँदै काठमाडौं आउन लागेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिवार धनगढी विमानस्थलमा बुद्ध एयरको विमानभित्रै दुर्व्यवहार गरिएपछि विमानभित्र गरिने झैझगडाको सजायका विषयमा बहस उठ्न थालेको छ ।

आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको समूहले मन्त्री भट्टराईका कारण विमान डिले भएको भन्दै विमानस्थल र विमानभित्रै पनि होहल्ला र हुलहुज्जत गरेका थिए ।

विमानभित्र चर्को स्वरमा बोल्ने, होहल्ला गर्ने, अन्य यात्रु तथा विमान कर्मचारीलाई दुर्व्यवहार गर्ने कामलाई संसारभरिका एयरलाइन्सले अपराधका रूपमा लिने गर्छन् ।

संसारभरिका एयरलाइन्सको छाता संगठन इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले दुर्व्यवहार गर्ने यात्रुहरू हवाई सुरक्षाका लागि गम्भीर र वास्तविक खतरा भएको बताएको छ ।

नेपाल लगायत सबै देशको कानूनमा विमानभित्र गरिने असामान्य व्यवहार कसूर ठहरिने व्यवस्था छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ को नागरिक उड्डयनको नियमन तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ‘वायुयानमा यात्रुबाट हुने अवांछित व्यवहारजन्य कसुर’ को व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थामा उल्लेख गरिएबमोजिम, ‘उडानमा रहेको वायुयानमा कुनै यात्रुले वायुयानमा सवार चालकदलका सदस्य वा अन्य यात्रु माथि हातपात वा दुर्व्यवहार गरेमा वा वायुयानका यन्त्र, उपकरण वा सरसामानमा हानि नोक्सानी पुर्‍याउने कार्य गरेमा वा वायुयानभित्रको शान्ति सुव्यवस्थाका साथै उडान सुरक्षामा समेत खलल पुग्ने अन्य कुनै किसिमको कार्य गरेमा अवांछित व्यवहार गरेको कसूर मानिनेछ र यस्तो कसुर गर्नेलाई रु. दश हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

शनिवार बुद्ध एयरको विमानमा मन्त्री भट्टराईमाथि गरिएको दुर्व्यवहारले ‘वायुयानभित्रको शान्ति सुव्यवस्था’ खल्बल्याएको देखिन्छ । मन्त्री भट्टराईमाथि दुर्व्यवहार गरिँदा अन्य यात्रु तथा विमान कर्मचारीमा त्रास फैलिएको थियो । त्यसैले दुर्व्यवहार गर्ने यात्रुहरूमाथि कानूनी कारवाही चलाउनुपर्ने देखिन्छ ।

यात्रुले गर्ने दुर्व्यवहार रोक्ने जिम्मेवारी विमान कर्मचारीको हुन्छ । त्यसैले उनीहरू यात्रु विमान चढ्न लाग्दा स्वागत गर्न उभिरहेको बेलामा को यात्रु कस्तो अवस्थामा छ भनेर पनि जाँचिरहेका हुन्छन् । जस्तो रक्सी पिएर आएको यात्रुको सास गनाएको जस्तो लागेमा विमान कर्मचारीले त्यसको सूचना पाइलटलाई दिएका हुन्छन् । रक्सी पिएको मानिसले झगडा गर्ने सम्भावना हुन्छ ।

तर शनिवारको घटनामा मदिराको संलग्नता थिएन र यस्तो घटनाको पूर्वानुमान गर्न विमान कर्मचारीहरूलाई गाह्रो हुन्छ ।

अनायास आइलाग्ने यस्तो परिस्थितिले उडानको सुरक्षामा नै प्रश्न उठाउने हुनाले पनि विमानभित्र गरिने दुर्व्यवहारलाई गम्भीर कसूरका रूपमा लिने गरिएको हो ।

मन्त्री भट्टराई स्वयंले आफ्ना कारण विमान उड्न केही ढिला भएको स्वीकार्दै सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७६