सुनकोसी न्यूज
जेष्ठ ७ गते, बिहीबार
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने प्रस्ताव गरेको जग्गा तथा भवन नलिने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले उक्त प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने निर्णय गरेको हो।एमाले सचिवालयमा प्रस्तुत प्रस्तावअनुसार अब पार्टीको नयाँ केन्द्रीय कार्यालय मदननगर, बल्खुमै निर्माण गरिने भएको छ।
‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन बल्खुमै निर्माण गर्ने निर्णय गरिएको छ,’ प्रस्तावमा उल्लेख गरिएको छ।
यसअघि गुरुङले एमालेका लागि दानमा भवन निर्माण गरिदिने घोषणा गरेका थिए। उक्त भवनको शिलान्यास २०८१ असोजमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा गरेका थिए। तर भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।
एमाले महासचिव शंकर पोखरेलले मदन–आश्रित दिवसको अवसरमा बल्खुमै नयाँ केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरिसकेका छन्।व्यवसायी गुरुङबाट जग्गा र भवन दान लिने निर्णयपछि एमालेभित्रै विवाद उत्पन्न भएको थियो। सो विषयमा प्रश्न उठाउने नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि पार्टीले अनुशासनको कारबाहीसमेत गरेको थियो।
















Add Comment