सुनकोसी न्यूज
जेष्ठ ७ गते बिहीबार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठक १५ मिनेटपछि पुनः बस्नेगरी स्थगित गरिएको जानकारी दिएका हुन्।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरूले विरोध जनाएका थिए।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रस्ताव पेश गर्न समय दिइएपछि विपक्षी दल थप आक्रोशित बनेका हुन्।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको आरोप लगाए। उनले संविधानको धारा ७६(१०) अनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री जनताको आवाजबाट भाग्न खोजेको टिप्पणी गरे।
विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था स्मरण गराउँदै प्रधानमन्त्री लगातार अनुपस्थित रहेको बताएका थिए।यसबीच सत्तापक्षका सांसदहरूले भने प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची अघि बढाउने अधिकार रहेको जिकिर गरेका थिए। रास्वपाका सांसद अशोककुमार चौधरीले नियमावलीअनुसार सरकारको काम अघि बढाइएको बताएका थिए।
सत्तापक्ष र प्रतिपक्षबीच संसद्मा तीव्र सवाल–जवाफ भएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
















Add Comment