सुनकोसी न्यूज
जेग्ठ ५ गते, मंगलबार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि मंगलबार गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि रोकिएको बताएका छन् । उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको आग्रहपछि हमला स्थगित गरिएको उल्लेख गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत कतारका अमीर तमीम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान अल सउद तथा यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नहयान ले इरानसँग गम्भीर वार्ता भइरहेको भन्दै सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् ।
ट्रम्पका अनुसार उनले रक्षामन्त्री पिट हेगसेथ, ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन तथा अमेरिकी सेनालाई इरानमाथिको हमला रोक्न निर्देशन दिएका छन् ।
यद्यपि, स्वीकार्य सम्झौता नभए तुरुन्तै आक्रमणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएको ट्रम्पले बताएका छन् ।
इरानमाथि सम्भावित सैन्य कारबाहीको विषयमा अमेरिकाभित्र समेत व्यापक बहस भइरहेको छ । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार करिब ६४ प्रतिशत अमेरिकी मतदाताले इरानविरुद्ध युद्धमा जानु गलत निर्णय हुने बताएका छन् ।
BBC ले जनाएअनुसार यस्तो अवस्थाले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई चुनौती थपिन सक्ने विश्लेषण गरिएको छ ।














Add Comment