अर्थ/विजनेस मुख्य समाचार समाचार हेडलाईन न्युज

बजेटमा ‘हावादारी अंक’ राख्ने प्रवृत्ति अन्त्य गर्छौं : अर्थमन्त्री वाग्ले

सुनकोसी न्यूज

वैशाख २९ गते २०८३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटमा अस्वाभाविक र यथार्थभन्दा बाहिरका अंक राख्ने विगतको प्रवृत्तिलाई सच्याउने बताएका छन्। उनले सरकारले ठूलो आकारको बजेट ल्याए पनि वास्तविक खर्च क्षमता कमजोर रहेको स्वीकार गरेका हुन्।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले साढे १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरे पनि करिब १६ खर्ब रुपैयाँ बराबर मात्र खर्च गर्न सक्ने अवस्था रहेको बताए।

उनले विगतदेखि नै बजेट निर्माणमा अव्यावहारिक अंक राख्ने प्रवृत्तिका कारण कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे। विशेषगरी पूँजीगत खर्चतर्फ वार्षिक रूपमा करिब २ खर्ब रुपैयाँ मात्रै खर्च हुने अवस्थाले देशले लिएको विकासको लक्ष्य पूरा गर्न नसकिने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको विस्तार र विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको पनि बताए। चालु आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरिएको जानकारी दिँदै उनले स्रोत व्यवस्थापनमा ठूलो चुनौती रहेको स्वीकार गरे।

उनका अनुसार हालको अवस्थामा राजस्वबाट करिब १३ खर्ब रुपैयाँ मात्र धान्न सकिने अवस्था छ भने बाँकी करिब ७ खर्ब रुपैयाँ स्रोत व्यवस्थापन नै सरकारका लागि मुख्य चुनौती बनेको छ।चालु आर्थिक वर्षमा विनियोजित बजेट खर्च बढाउन सरकारले ‘इमर्जेन्सी मोड’ मा काम गरिरहेको उल्लेख गर्दै उनले असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै उच्च हुने अनुमान पनि गरे।

प्रकाशित मिति: मङ्लबार, बैशाख २९, २०८३

 

 

ताजा अपडेट