सुनकोसी न्यूज
चैत १५ गते आइतबार
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनको परिवारको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनाएको छ। यसक्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ भने बूढानीलकण्ठस्थित निवास परिसरमा भइरहेको भवन भत्काउने काममा प्रहरीले रोक लगाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा देउवा परिवारविरुद्ध सत्ताको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो। स्रोतका अनुसार, पहिले संकलित सूचना तथा प्रमाणहरूलाई थप पुष्टि गर्दै अनुसन्धान विस्तार गरिएको छ।
प्रमाण नष्ट हुन सक्ने आशंकाका आधारमा बूढानीलकण्ठस्थित निवासमा भइरहेको संरचना भत्काउने काम तत्काल रोक्न निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ। उच्चपदस्थ अधिकारीहरूको निर्देशनमा उक्त निर्णय लिइएको बताइएको छ।
अनुसन्धानका क्रममा पछिल्लो एक–डेढ वर्षमा देउवाका छोरा जयवीर देउवा तथा नजिकका नातेदारका नाममा खरिद गरिएका करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ। साथै, प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतबाट विभिन्न खातामा भएको आर्थिक कारोबारको विवरण पनि संकलन भइरहेको बताइएको छ।
स्रोतका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवा को सम्भावित संलग्नता तथा नेपाल टेलिकमको बिलिङ अनियमिततासम्बन्धी विवादित निर्णयपछि भएका कारोबारहरूबारे समेत छानबिन भइरहेको छ।
देउवा परिवारले बूढानीलकण्ठस्थित एउटै कम्पाउण्डभित्र दुईवटा बंगला निर्माण गरेका थिए, जसबारे यसअघि नै उजुरी परेको थियो। जेनजी आन्दोलनका क्रममा उक्त निवासमा आक्रमण र आगजनी समेत भएको थियो।
हालै क्षतिग्रस्त संरचना भत्काउने काम भइरहेको अवस्थामा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरी हस्तक्षेप गरिएको जनाएको छ। अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

















Add Comment