सुनकोसी न्युज टिप्पणी
भदौ १५ गते शनिबार, २०८१
काठमाडौं । एमालेका सचिव याेगेश भट्टराईले सदनमा माओवादी जनयुद्धका विषयमा तुच्छ भाषा प्रयोग गरेपछि त्यसको विपक्षमा सदनभित्र र बाहिर बहस सुरु भएको छ। सदनमा माओवादी सांसदहरूले भट्टराईको झाँकाे झारेका छन् भने सामाजिक सञ्जालमा याेगेश भट्टराईको शब्दपिटाइ र खेदाइ सुरु भएको छ। यसले एमालेलाई रक्षात्मक अवस्थामा पुराएकाे एमालेका नेताहरूले लेख्न थालेका छन् । महासचिव शंकर पाेखरेलदेखि युवा नेता विष्णु रिजालसम्मले आफ्नो फेसबुक वालमा सचिव भट्टराईको बचाउमा लेखेका छन् । रिजाल लेख्छन् –
‘माओवादीले १० बर्षसम्म चलाएको हतियारबन्द राजनीतिकका बारेमा …… नेकपा (एमाले) ले त्यसलाई माओवादी हिंसा मान्दै आएको छ, ‘जनयुद्ध’ मान्दैन ।
माननीय योगेश भट्टराईले त्यही कुरा संसद्मा बोल्दा व्यक्तिगत रुपमा उहाँलाई …… मनोबल कमजोर बनाउने प्रयास गरिएको छ । खासमा यो पनि हिंसा नै हो ।
नेकपा एमालेका साढे तीन सयभन्दा बढी कार्यकर्ताले माओवादीबाट ज्यान गुमाएका छन्, कैयौँ अंगभंग र विस्थापित भएका छन् । तसर्थ, नेकपा (एमाले) ले कहिल्यै पनि ‘जनयुद्ध’ भनेर स्वीकार्दैन ।
…… योगेश भट्टराईमाथि ज्यादती हुनु अन्ततः नेकपा (एमाले) माथिकै ज्यादती हो ।’
सत्य यही त हाे !!
नेकपा (माओवादी) तत्कालीन एमाले संलग्न/समर्थित फासिष्ट शाही सत्ताको बिरुद्ध ८०% भूगोलका जनताको साथमा जनताकै लागि सशस्त्र संघर्षरत थियोे त्यसैले त्यो जनयुद्ध थियोे । त्यहीबेला, एमाले राजाका पाउमा माेहर चढाएर कुर्सीकाे याचना गरिरहेको थियोे । सातदलकाे गठबन्धनलाई ज्ञानेन्द्रले सडकबाट पनि खेदेपछि जनयुद्धकै शरणमा पुगेर २०६२ साल मंसिर ७ गते १२ बुंदे सहमति गर्न बाध्य भएको जगजाहेर छ। गाउँगाउँबाट शहरमा आन्दोलनका लागि मान्छे पठाइदिनुपराे भनेपछि भुटेका मकै र सातु झाेलामा बाेकेर जनता शहर र सडकमा आएको कसैले बिर्सेकाे छैन । दुई चारवटा ठूला आक्रमण गरेर राजतन्त्रको मनाेवल घटाइदिनुपराे भनेर गरेको राेइकराई, जनता माओवादीले नभनी आन्दोलनमा जादैनन् र माओवादीले फाैजी र जनसंघर्षलाई सशक्त नबनाई एमाले/ कांग्रेसकाे मात्रै बलबुताले आन्दोलन गर्न भ्याउदैन भनेर गरेको इतिहासको सबैभन्दा स्पष्ट र स्थापित आत्मस्विकाराेक्ति पनि जगजाहेर छ।
यो भयो उनीहरूलाई राजाले नपत्याएपछिकाे अवस्था । राजाले पत्याउन्जेल त आतंककारी विधेयक ल्याउन र झाेलामा टाउको काटेर ल्याउन गरिएको ‘अहिंसावादी’ फर्मानमा सहीछाप गरेकै हाे एमालेले !!
राजतन्त्र नै ठिक छ, त्यसैमुनि बसेर जति पाइन्छ त्यति भाेग गर्ने दार्शनिक भावभूमिबाट निर्देशित एमालेकाे दस्तावेज जबजमा यही विषय स्पष्ट छ। २०४८ देखि अहिलेसम्मका उसका सबै गतिविधिले यही पुष्टि गर्छन् । त्यसैले उतिबेलादेखि नै जनयुद्धबिरुद्ध देशभरि एमालेले आफ्ना नेता- कार्यकर्ता परिचालन गरेको सबैलाई थाहै छ। एमालेका कार्यकर्ताले सेना/पुलिस लगाएर राति सुतेका माओवादी कार्यकर्ता समाउन लगाउने, हतियार नबाेकेका कार्यकर्तालाई पनि लखेटिलखेटि समाउन र मार्न लगाउने गरेको सयौं घटना छन् । पर्सा जिल्लाको बिरुवागुठी घटना त्यसको एउटा कुरुप प्रतिनिधि घटनामध्ये एक जिवितै छ। एमालेका केही नेताले जिल्लामा माओवादीको बीउ मास्ने अभियान चलाउदा प्रताडित बनेका सर्वसाधारण अहिले त्यहीँ छन् ।
देशैभरि हुने त्यस्ताखाले घटनाको प्रतिरोधमा केही एमालेका मान्छे परेको हुनसक्छ तर एमालेकै कार्यकर्ता भएको नाताले कहिल्यै कुनै मान्छे जनयुद्धबाट पीडित भएको छैन । जनयुद्धको लक्ष्य, उदेश्य र कुनै पनि कार्यक्रम एमालेबिरुद्ध लक्षित थिएनन् । कतिपय घटना एमालेका कतिपय कार्यकर्ताको स्वभाव र वर्गचरित्रका कारण उत्पन्न हर्कतका कारण स्वभाविक हिसाबले घटेको देखिन्छ । यदि एमाले भएको कारणले मात्रै मार्ने वा सताउनने भएको भए के त्यो संख्या १/२ सय मात्रै हुन्थ्यो हाेला र ??
त्यसैले एमालेका मान्छे जनयुद्धमा यति मरे, यतिले दुःख पाए आदि इत्यादि भनेर अहिले आएर गनगन गर्नु फगत बिचारबिहिन गनगने दाेगलागिरि मात्रै हाे। स्पष्ट कुरा त के भने २०६२/६३ काे आन्दोलनपछि एमालेले चाहेको अहिलेकाे वा याेभन्दा ठूलो उपलब्धि थिएन । राजाकै पाउमा दाम चढाएर एकथान प्रधानमन्त्रीको कुर्सी लिनेसम्म थियोे । माओवादीले ल्याउन खाेजेकाे वर्तमान संविधानले व्यवस्था गरेकोभन्दा अझ धेरै प्रगतिशील थियोे। तर सबैलाई थाहा छ, कम क्षतिमा बढी उपलब्धि हासिल भएको र त्यसलाई सुरक्षित गर्दै अघि बढ्नुपर्ने दायित्व माओवादीकै काँधमा भएको हुँदा एमाले/ कांग्रेसलाई संघीय लाेकतान्त्रिक गणतन्त्रका लागि मनाउदा मनाउँदै न संविधान र व्यवस्था माओवादीले भनेझैं भयो, न त माओवादी स्वयमले आफ्नो पूर्ववत अस्तित्व कायम राख्न सक्यो । बरु एमाले/ कांग्रेसको गलत संगतले धेरै माओवादी नेता/ कार्यकर्ता उनीहरू जस्तै भ्रष्ट भएका छन् जसका कारण माओवादीको तीब्र क्षयीकरण भइरहेको छ। एमाले यसैको नाजायज फाइदा उठाउन खाेज्दैछ।
हिसाबकिताब गर्दा समग्रमा एमाले/ कांग्रेस लगायत प्रतिगामी ( पछाडि फर्किन चाहने) शक्ति बलिया र माओवादी प्रगतिशील (सम्पूर्ण जनताको आर्थिक राजनीतिक सामाजिक विकास सहित अघि बढ्न चाहने) शक्ति राष्ट्रिय एजेन्डा, संविधानकाे रक्षा र कार्यान्वयनको दायित्व र समन्वयात्मक भूमिकामा रहँदारहँदै पनि चुनावी जनमतको हिसाबले कमजोर अवस्थामा पुग्यो । खासमा माओवादी आफ्नै अलमलका कारण यो ठाउँमा पुगेको हाे।
अहिले जनताको शक्ति, जनयुद्धबाट जनताले जन्माएको माओवादी शक्ति कमजोर भएको देखेपछि प्रतिगामी शक्ति एमाले/कांग्रेस लगायत फेरि उही पुरानै अवस्थामा मुलुकलाई फर्काउने विभिन्न षड्यन्त्रमा लागेका छन् । वर्तमान गठबन्धन सरकार बन्ने बेलामा भएको भनिएको ७ बुंदे गाेप्य सहमति र सदनमा उनीहरूका सांसदले बाेल्ने प्रसंग, भाषा, शैली र लवजले यही स्पष्ट पार्दछ। नेपाल विद्युत प्राधिकरणले गरेको राम्रो कामसँग दुनियाँ प्रभावित छ तर सरकार त्यसैलाई चिथाेर्न व्यस्त छ। भ्रष्टाचार गरेको ५ वर्षपछि मुद्दा हाल्न नपाइने भ्रष्टाचारमैत्री कानुन ल्याउन मरिहत्ते गरिरहेको छ। यस्ता काण्ड त एमालेको नाममा कति छन् भनेर हिसाब गरिसाध्य छैन ।
त्यसैले निश्कर्षमा भन्न सकिन्छ – एमाले हिजो जुन चरित्रको थियोे आज पनि त्यही छ । यिनका नेता युवा हाेउन् वा बुढा, राजासहितकाे, मालिकसहितकाे दास बन्ने र जनतालाई फेरि रैती बनाउनेमा दृढसंकल्पित देखिन्छन् । एमालेका महासचिव, सचिवदेखि युवा नेताहरूले समेत त्यो परम्परालाई दर्बिलाे काँध थापेको परिदृष्य विडम्बनापूर्ण छ। जनयुद्ध बारे एमालेको बुझाइ र धारणा हिजो पनि गलत थियोे, आज पनि गलत छ। निरन्तर भ्रम छर्ने र जनतालाई गुमराह गरिरहने नियत देखिन्छ ।
Add Comment