समाचार हेडलाईन न्युज

भूकम्पमा मृत्यु हुनेकाे संख्या १२३ भन्दा बढी, घाइतेको उद्धारमा ३ हेलिकप्टर, घटनास्थलमा प्रधानमन्त्री प्रचण्ड

सुनकोसी न्युज
कार्त्तिक १८ गते शनिबार, २०८०
जाजरकोट । शुक्रबार राति जाजरकोट र रूकुममा गएको भूकम्पका कारण भएको क्षतिको निरिक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड घटनास्थलमा पुग्नुभएको छ। प्रधानमन्त्री स्वास्थ्यकर्मी र उद्धारकर्मी टाेलि लिएर जानुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेबिन्द आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी घाइतेको उद्धारमा तीनवटा हेलिकप्टर प्रयोग गरिएको छ। उक्त हेलिकप्टर सुर्खेतबाट परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दियो ।
हेलिकप्टरबाट उद्धार तथा स्वास्थ्य सामाग्री समेत लगिने छ। उद्धारमा तीनवटै सुरक्षा संयन्त्रको प्रयोग गरिने बताइएको छ भने सरकारले सबैलाई उद्धारमा जुट्न आव्हान गरेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति शुक्रबार ११:४७ बजे गएको ६.४ म्याग्निच्युड भुकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।भुकम्पबाट जाजरकोटमा ८७ जना र रुकुम पश्चिममा ३६ जना गरि १२३ जनाभन्दा बढीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डियसपि सन्तोष राेकाले जानकारी दिनुभएको छ। भुकम्पमा परि जाजरकोट नलगाड नगरपालिकाकी उप-मेयर सरिता सिंहको मृत्यु भएको छ। वरपरका सबै अस्पताल घाइते र मृतकले भरिएको प्रहरीले जानकारी दिएको छ।

बारेकाेट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिका अनुसार अहिले बिहान ६ बजेसम्म एउटै पनि सग्लो घर देखिएका छैनन् । उनी माेटरसाइकलमा चढेर हरेक वडाको अवस्था निरिक्षण गरिरहेका छन् ।

भूकम्पको धक्काका कारण पुल भासिएकाे र सडकहरू भत्किएका कारण बिरामीलाई गाडीमा राखेर अस्पताल पुराउन तथा राहत लिएर जान कठिनाइ भइरहेको अध्यक्ष गिरिले बताउनुभयो । भूकम्पको धक्काले काठमाडौं र भारतको पटनासम्म हल्लिएकाे भारतमा रहेका नेपालीले सामाजिक सन्जालमा लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८०