समाचार हेडलाईन न्युज

उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार दाहालका छाेराकाे उपचारमा एक महिनाको तलब सहयोग गर्ने

सुनकोसी न्युज
वैशाख ९ गते शनिबार, २०८०
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रमोद दाहालका छोराको उपचारका लागि आफ्नो एक महिनाको तलब सहयोग दिने घोषणा गरेका छन् ।

शनिबार प्रेस सेन्टर उपत्यका प्रदेश कमिटीको साधारणसभामा उपप्रधानमन्त्री श्रेष्ठले उक्त घोषणा गरेका हुन् । साधारणसभामा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश कमिटीले पत्रकार दाहालका छोरा विकल्प दाहालको उपचारका लागि सहयोगस्वरूप ४० हजार रूपैयाको चेक हस्तान्तरण गरेको छ ।

पत्रकार दाहालका छोरा विकल्पको नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा उपचार भइरहेको छ । उनको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकहरूले बताएको उनका बुबा प्रमोदले बताए । बाेनम्याराे ट्रानसप्लान्ट गर्न स्वदेशमै २५ देखि ३५ लाखसम्म लाग्ने र सिभिल अस्पतालमा मात्रै उक्त सुविधा रहेको अस्पताल स्राेतले जानकारी दियो ।

विकल्प प्रमाेद दाहालका एक मात्रै सन्तान हुन्। उनको उमेर हाल १४ वर्ष भयो । उनलाई केही महिनापहिला डेंगु लागेपछि उपचारको लागि के एम सि र सिभिल अस्पतालमा लामो समय राखिएको थियोे । रगतमा रहेको हेमाेग्लाेविन बन्ने प्रक्रिया बन्द भएपछि केही महिनादेखि उनलाई नियमित रगत दिने गरिएको छ। महंगो आैषधि उपचार गर्नुपर्ने भएकोले दाहालले हालसम्म १३/१४ लाख खर्च भइसकेको बताए । सिन्धुली सुनकोसी -५ नाङ्गेडाडाका बासिन्दा दाहालका छाेराकाे उपचार खर्च जुटाउन र सहयोग गर्न प्रेस सेन्टर नेपाल लगायत शुभचिन्तकहरू लागिरहेको दाहालले सुनकोसी न्युजलाई जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, बैशाख ९, २०८०