अन्तर्वार्ता/विचार मुख्य समाचार समाचार

मन्थली नगरमा गठबन्धन तगडा, एमाले सकसमा

सुनकोसी न्युज
२०७९ वैशाख ८ गते विहिबार।
सूर्य सुवेदी
रामेछाप । स्थानीय निर्वाचन २०७९ जति नजिकिँदै छ त्यति नै मन्थली नगरपालिकाको चुनावी सरगर्मी बढ्दै छ । स्थानीय निर्वाचन २०७४ मा मन्थली नगरपालिकामा नेकपा एमालेले झिनो मतले निर्वाचन परिणाम आफ्नो हातमा पारेको थियो । त्यतिबेला नेकपा एमालेका उमेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याई मन्थली नगरको प्रमुखमा बाजी मारेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद कुमार कार्कीले ५ हजार ३७९ र माओवादीका उमेद्वार तारानारायण श्रेष्ठले ५ हजार ३११ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा राप्रपाले ७११ र नयाँ शक्तिले ६६ मत प्राप्त गरेका थिए ।
२०७४ को निर्वाचनमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले पाएको मतभन्दा कांग्रेसका उमेद्वारले पाएको मतको फरक भनेको जम्मा १ हजार १५० कम मत हो भने एमालेले प्राप्त गरेको मतभन्दा माओवादीले प्राप्त गरेको मतको फरक भनेको १२ सय १८ मत हो । उक्त निर्वाचनमा कांग्रेससँग माओवादीको फरक मत जम्मा ६८ हो । उप प्रमुखमा एमाले उमेद्वार निर्वाचित भएको उक्त निर्वाचनमा मतान्तर भने करिब प्रमुख बराबरको नै छ अहिलेको अवस्थामा ।
मन्थली नगरपालिकामा अहिले २०७४ को भन्दा अवस्था फेरिएको छ । पहिलो कुरा, २०७४ मा एमालेबाट नगरपालिका प्रमुखमा निर्वाचित रमेश कुमार बस्नेत नेकपा एकीकृत (समाजवादी) तिर लागेका छन् । स्थानीय बासिन्दाको अनुमानमा रमेश कुमार बस्नेत समाजवादीतिर लागेपछि कम्तिमा पनि उनले मन्थली नगरको १२ देखि १५ सय मत आफूतिर तान्नेछन् । उक्त मत २०७४ मा एमालेले पाएको मतमा घटाउँदा एमालेको मत ५ हजार ३२९ मा झर्ने छ र यो नगरमा कांग्रेस, एमाले र माओवादीको मत करिब बराबर हुनेछ भने समाजवादीको मत १२ सय हुनेछ ।
अहिले राष्ट्रियरुपमै कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनले मिलेर चुनाव लड्ने तयारीले यहाँ गठबन्धनको मत ११ हजार ८ सय ९० हुनेछ । यो हिसाबले गठबन्धन दलमध्ये जसले टिकट पाए पनि ६ हजार ५६१ मतान्तरले चुनाव जित्नेछन् ।
वडाको अवस्था ः
मन्थली नगरपालिकामा जम्मा १४ वटा वडा रहेका छन् । १४ वटामध्ये माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो । सदरमुकाम रहेको वडा नम्बर १, वडा नम्बर ४, ५ र वडा नम्बर १० र ११ माओवादी केन्द्रको खातामा गएको थियो भने वडा नम्बर ६, ७, ८, १२, १३ एमाले र वडा नम्बर २, ३, ९ कांग्रेसको हातमा गएको वडा हो । वडा नम्बर १४ राप्रपाले जितेको थियो ।
२०७४ मा विभिन्न पार्टीमा खसेको मत र अहिले गठबन्धनमा रहेका दलहरुको मत जोड्दा पाँच वटा वडा बाहेक नौ वटा वडा गठबन्धनले जित्ने प्रष्ट देखिन्छ । वडा नम्बर १ मा गठबन्धनको मत ८९९ छ भने गठबन्धनभन्दा एमाले ४५७ मतले पछि छ । यस्तै वडा नम्बर २ मा गठबन्धनको मत ९३० एमाले ४८८ ले पछि, वडा नम्बर ३ मा गठबन्धन ६७६ मत, एमाले २३४ मतले पछि, वडा नम्बर ४ मा गठबन्धन ८७४, एमाले ४५९ ले पछि, वडा नम्बर ५ मा गठबन्धन ६०५, एमाले २०७ मतले पछि, वडा नम्बर ६ मा गठबन्धन ७४३, एमाले १५१ मतले पछि, वडा नम्बर ७ मा गठबन्धन ६९५, एमाले २ मतले पछि, वडा नम्बर ८मा गठबन्धन ६२७, एमाले २५२ मतले अघि, वडा नम्बर ९मा गठबन्धन ८७७, एमाले ५३० मतले पछि, वडा नम्बर १० मा गठबन्धन ६९७, एमाले ५०९ मतले पछि, वडा नम्बर ११मा गठबन्धन १२०८, एमाले एक हजार १२ मतले पछि, वडा नम्बर १२मा गठबन्धन ४४६, एमाले १६८ मतले अघि, वडा नम्बर १३मा गठबन्धन ५२३, एमाले २११ मतले अघि, वडा नम्बर १४ मा राप्रपाको पक्षमा नतीजा थियो ।
समग्रमा २०७४ को स्थानीय निर्वाचनमा विभिन्न दललाई खसेको मतअनुसार गठबन्धन र एमालेमा विभाजन गर्दा मन्थली नगरपालिका र अधिकांश वडाहरुमा गठबन्धनले स्पष्ट जितको नतिजा ल्याउने देखिन्छ । यो रिपोर्टमा नगर प्रमुखमा समाजवादीतिर गएको मत यहाँ प्रस्तुत गरे पनि वडामा त्यो मतलाई नघटाई एमालेको साविक मत राखेको कारणले वडा नम्बर ३, ८, १२ र १३ मा एमाले बलियो देखिए पनि उक्त मत एमालेको नाममा कायम रहने छैन ।

प्रकाशित मिति: बिहिबार, बैशाख ८, २०७९