सुनकाेशी न्युज
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । सो पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद अकवाल मियाँका अनुसार हिजो बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।केहीदिन पहिले जसपा नेपालका अध्यक्ष ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि समावेश थियो । त्यसबेला महतोलाई संसदीय दलको नेता बनाउने विषयमा बहुमत पुगेको थिएन । हिजो बबरमहलमा बसेको दलको बैठकमा बहुमत पुगेपछि सो निर्णय भएको उनले बताए ।
अध्यक्ष उपेन्द्र यादवले पनि संसदीय दलको बैठक नै नबसेको र विधान पनि पारित नभएको बेला महतो कसरी संसदीय दलको नेता भए त्यसबारेमा आफूलाई केही जानकारी नरहेको बताए । उनले भने–‘महेश बस्नेतजीहरुले राजेन्द्रजीलाई संसदीय दलको नेता बनाउनुभएको होला, हाम्रो पार्टीका संसदीय दलले उहाँलाई संसदीय दलको नेता बनाएको छैन ।’
यादवले संसदीय दलको नेता बन्न विभिन्न प्रकृया हुने र ती प्रकृया पुरा नभएको बताए । उनले भने, ‘पहिलो कुरा संसदीय दल समायोजन हुनुपर्छ, समायोजनपछि विधान पारित हुनुपर्छ । सो विधानअनुसार संसदीय दलको नेता बन्छ । त्यसमध्ये कुनै प्रकृया पुरा भएको छैन ।’
Add Comment