बागमती समाचार स्थानीय हेडलाईन न्युज

दुबै पटक ओलीलाई प्रचण्डले प्रधानमन्त्री बनाउनुभएको हो – डा.वेदुराम भुषाल

सुनकोशी न्युज
२०७७ माघ ३ गते शनिबार
काठमाण्डौं । ‘जबज’ मा विद्यावारिधी गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य डा. बेदुराम भुषालले वर्तमान कामचलाउ प्रधानमन्त्री केपी ओलीलाई दुबै पटक प्रचण्डले प्रधानमन्त्री बनाएको स्पष्ट गर्नुभयो ।

आज नेकपा काठमाण्डौंको वडा नं. ७ ले आयोजना गरेको वडा भेलामा भुषालले उक्त कुरा बताउनुभएको हो । उहाँले ओली र उनका वरिपरिका मान्छेले जबजलाई आफ्नो भ्रष्ट र कुरुप अनुहार ढाक्ने नकाब बनाउन खोजेको हुदा जबजका आधारभूत मूल्यमान्यता कार्यन्वयनमा ओली कहिल्यै इमानदार नभएको बताउनुभयो ।

‘जबज मान्ु भन्ने, तर ७० करोड भ्रष्टाचारको डिलिङ गरेको रेकर्डलाई नक्कली भनेर दुनियाँलाई ढाँट्ने ?’ भन्दै डा. भुषालले आक्रोश ब्यक्त गर्नुभयो । उहाँले इमानदार नेता–कार्यकर्ताले ओलीको चुट्कीलामा लट्ठीएर भ्रमित हुन नहुने भन्दै सचेत खबरदारी गर्न आव्हान गर्नुभयो ।

मित्रपार्कको आ.बि. होममा आयोजना गरिएको भेला कार्यक्रममा केन्द्रीय सदस्य तथा काठमाण्डौंका सहइन्चार्ज दिलिप महर्जनले ओलीका जाली कुरामा नलाग्न र पार्टीलाई खराब तत्वबाट बचाउदै गैरसंवैधानिक प्रतिगमनको बिरुद्ध मोर्चा कस्न आव्हान गर्नुभयो ।

त्यसैगरी प्रदेश सदस्य तथा काठमाण्डौं क्षेत्र नं. ४ का इन्चार्ज बिदुर खड्काले ओली सरकाले पास गर्न लागेको एमसिसि संसदमा लैजान नमानेको तथा संसदमा आफू अल्पमतमा परेका कारण आत्तिएर संसद बिघटन गरेको बताउनुभयो । उहाँले ओलीलाई आफ्नै पार्टीभित्र र संसदमा सहमति नजुटेपछि बिदेशी शक्तिकेन्द्रको शरणमा पुगेर राष्ट्रघाती सहमतिलाई सदबाट जबरजस्ती पारित गराउन खोजेको बताउदै यस्ता खराब नेतृत्वको खराब नियतमाथि सचेत जनताले प्रश्न गर्नु ढिलो भैसकेको बताउनुभयो । अहिलेको आन्दोलन ओलीको यही राष्ट्रघाती कदमको बिरुद्ध हो, उहँले थप्नुभयो ।

कार्यक्रममा बागमति प्रदेश सांसद तथा काठमाण्डौं जिल्ला सदस्य कुशुम कार्कीले संविधानमै नभएको अधिकार प्रयोग गरेको हुदा संविधान विघटन नै नभएको बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिलाई मनमा लागेकै भरमा वा अप्ठेरो परेकै भरमा संविधान मिचेर संसद विघटन गर्ने मात्रै होइन, कुनै पनि निर्णय गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो । अदालतले ओलीको असंवैधानिक कदमलाई सदर नगर्ने उहाँले ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेकपा महानगर कमिटिका सचिव रविन्द्र श्रेष्ठले ओलीले सुन्तलाघारी र सल्ला घारीको कुरा गरेर कार्यकर्तालाई आफूतिर तान्न ललिपप देखाएको बताउनुभयो । उहाँले अहिले सत्ताको दुरुपयोग गरेर ओलीले विभिन्न प्रालोभनमा पार्टीका नेता–कार्यकर्तालाई आफूतिर आउन घरदैलो देउसी अभियान चलाएकोले धेरैलाई भ्रम सृजना भए पनि त्यो झुटको खेती लामो समय नटिक्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रम भव्यतासाथ सम्पन्न भएको र सबै सहभागी पार्टी सदस्यहरु ओलीको प्रतिगमनबिरुद्ध एकजुट भई संघर्षमा जुट्न प्रतिवद्धता जनाएको ७ नं. वडाका वडाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष शुद्ध डंगोलले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७