समाचार हेडलाईन न्युज

माघ ९ गते रत्नपार्कमा प्रतिगमनबिरुद्ध बृहत प्रदर्शन हुने

सुनकोशी न्युज
२०७७ माघ ३ गते शनिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माघ ९ गते संसद विघटनविरुद्ध काठमाडौंको रत्नपार्कमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विेशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरेको हो ।

यसअघि सार्वजनिक गरिएको दोस्रो चरणको आन्दोलनको कार्यक्रममा माघ २३ गते यसखाले बृहत आमसभा गर्ने भनिएको थियो । तर आज बसेको संघर्ष समितिको संयुक्त बैठकले माघ नौ गते नै आमसभा गर्ने निर्णय गरेको छ । अदालत र निर्वाचन आयोगलाई धाकधम्की दिएर फैसलालाई प्रभावित पर्ने कार्य ओली सरकारले निरन्तर जारी राखेकाले त्यसबिरुद्ध दबाबमुलक कार्यक्रम राखिएको संघर्ष समितिका सचिवालय सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिनुभयो ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ । बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ । त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटी मण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्याली आयेजना गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता कमरेड झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र शसक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

माघ ९ गते उपत्यकाका विभिन्न स्थानबाट जुलुशसहित अपरान्ह १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७