समाचार हेडलाईन न्युज

नेकपा काठमाण्डौको बृहत भेला : १५ सय ७६ सदस्यीय आन्दोलन परिचालन समिति निर्माण

सुनकोशी न्युज
२०७७ पौष २९ गते बुधबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला कार्यक्रममा नेकपाका अध्यक्षद्वोय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्वोधन गर्नुभएको छ । भेलामा उपस्थित हज्जारौं कार्यकर्तालाई उहाँहरुले प्रधानमन्त्री केपी ओलीले कसरी निरंकुश महत्वकांक्षा पूरा गर्नका लागि पार्टीका निर्णय र नेपालको संविधान लत्याए भनेर स्पष्ट पार्नुभएको छ ।

केपी ओलीले भारतको निर्देशनमा संसद बिघटन गरेको बताउदै अध्यक्ष प्रचण्डले ओलीको नक्कली राष्ट्रवादको असली चरित्र नेपाली जनताले स्पष्टै देखेको बताउनुभयो । उहाँले आफूहरुसँग ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरु रहेको र संसदमा पनि बहुमत रहेका कारण निर्वाचन आयोगले आधिकारिक पार्टी आफूहरुकै पार्टीलाई मान्यता दिने र अदालतले पनि संसद विघटनलाई मान्यता नदिनेमा आफू ढुक्क रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले ओलीले हज्जारौं हजार सदस्यलाई केन्द्रीय सदस्यको पद बाँडेर सडकछाप पार्टी बनाएको बताउनुभयो । उहाँले ओलीले फोहोरको डंगुहरु मात्रै जम्मा गरेर सुन्निएको मानिस जस्तो रोगी पार्टी बनाएको बताउनुभयो । नेपालले ओलीले कम्युनिष्ट पार्टीलाई मात्रै नभएर परिवर्तनका उपलब्धी र बलिदानबाट बनेको संविधानको समेत धज्जी उडाएको भन्दै आक्रोस ब्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य तथा काठमाण्डौंका सचिव हिमाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमले पार्टीले घोषणा गरेको एक महिने संघर्षका कार्यक्रमको लागि आन्दोलन परिचालन समिति बनाएको छ । जिल्ला इन्चार्ज सावित्री भुषालको संयोजकत्वमा १५ सय ७६ जनाको आन्दोलन परिचालन कमिटि बनाइएको कार्यक्रममा सचिव हिमाल शर्माले घोषणा गर्नुभएको हो । पौष २० गतेदेखि सुरु भएको दोस्रो चरणको एकमहिने संघर्षको कार्यक्रम माघ २३ गतेसम्म जारी रहने छ ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७