समाचार हेडलाईन न्युज

चावहिल, मैतिदेवीलगायत स्थानमा कालोझण्डा र व्यानर टाँगेर प्रतिगमनको बिरोध

सुनकोशी न्युज
२०७७ पौष २८ गते मंगलबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपाले संचालन गरेको एकमहिने प्रतिगमनबिरोधी आन्दोलनअन्तर्गत आज विभिन्न स्थानमा कालो झण्डा गाडेर र शहरका मुख्य चोकहरुमा प्रतिगमनबिरोधी नारा लेखिएका व्यानर टाँगेर बिरोध गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

ओली सरकारले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरी मध्यावधी चुनावको घोषणा गरेपछि सरकारकै नेतृत्व गरिरहेको पार्टी नेकपाले चरणबद्ध आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ । पौष २० गतेदेखि माघ २३ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरेको नेकपाले आज पौष २८ गते घरघरमा पर्चा वितरण गर्ने, टोलटोलमा कालो झण्डा गाड्ने र वडाहरुले कालो ब्यानर झण्ड्याउने कार्यक्रमअन्तर्गत काठमाण्डौंको वडा नं. ७, ३० र १ मा प्रतिगमन बिरोधी नारा लेखिएका ब्यानर टाँग्ने कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौं महानगरपालिका वडा नं. ७ को चावहिल चोकमा रहेको आकासेपुलको दुबैपट्टि दुईवटा व्यानर टाँगेर नेकपा वडापार्टीले प्रतिगमनको विरोधस्वरुप केन्द्रीय कार्यक्रमलाई सम्पन्न गरेको वडाध्यक्ष शुद्ध डंगोलले जानकारी दिए । त्यसैगरी वडा नं. ३० को मैतीदेवी चोक र ज्ञानेश्वरमा पनि प्रतिगमनबिरोधी नारा लेखिएका कालो ब्यानर टाँगेर विरोध गरिएको वडाका नेता नवराज न्यौपानेले बताए । यसैगरी वडा नं. १ का विभिन्न स्थानमा व्यानर टाँगिएको वडाका नेता सौरभ दवाडीले सुनकोशी न्युजलाई जानकारी दिए ।

प्रतिगमन बिरोधी कार्यक्रमअन्तर्गत पौष २९ गते बुधबार नेकपा काठमाण्डौं जिल्लाको आयोजनामा दिउसो १२ः ३० बजे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा हज्जारौं कार्यकर्ताको भेला आयोजना गरिएको केन्द्रीय सदस्य तथा काठमाण्डौंका सचिव हिमाल शर्माले बताए । ओलीले प्रज्ञा भवनमै कार्यकर्ता भेला गरेर प्रचण्ड–माधवलाई तथानाम गाली गरेको जवाफ उही स्थानबाट दिने तयारी रहेको उनले बताए । कार्यक्रममा अध्यक्षद्वोय प्रचण्ड र माधव नेपालले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ । काठमाण्डौंका सबै कार्यकर्तालाई भेलामा सहभागी हुन उर्दी जारी गरिएको छ । उक्त कार्यक्रम उत्सावर्दक हुने र प्रतिगमनको गालामा गतिलो झापड समेत सावित हुने नेकपा काठमाण्डौं जिल्ला क्ष्न्चार्ज सावित्री भुषालले बताइन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७७