पर्यटन समाचार हेडलाईन न्युज

रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन कात्तिक ५ गते

सुनकोशी न्युज
२०७७ कार्तिक ३ गते सोमबार
काठमाण्डौं । निर्माण सँपन्न ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । २०७२ वैशाख १२ गते गएको बिनासकारी भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी र दरबार हाइस्कुल पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रताप मल्लकालीन न्हुँपोखरी उद्घाटन हुनेछ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ ।

उद्घाटन भएपछि यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न पाउने छन् ।

भूकम्पपछि हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो । शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले काठमाण्डौं महानगरपालिकाबीच कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । त्यसपछि पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ । भूकम्पले भत्काएपछि भानु मावि चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो ।

भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो । रु. ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छन् । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना गरिएको थियो ।

गत भदौ २३ गते भानु संस्कृत मा.विं.को साँचो भने हस्तान्तरण भइसकेको छ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो ।

प्रकाशित मिति: सोमवार, कार्तिक ३, २०७७