पर्यटन समाचार साहित्य हेडलाईन न्युज

सिन्धुलीगढीको २५३ औं विजयोत्सवमा ‘सिन्धुलीगढी चित्रकथा’ विमोचन

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार

काठमाण्डौं । सिन्धुलीगढी विजयको २५३ औं वार्षिकोत्सवको अवसरमा सिन्धुलीगढी चित्रकथा नामक पुस्तक विमोचन गरिएको छ । आजकै दिन अर्थात असोज १५ गते बंशु गुरुङलगायत नेतृत्वको नेपाली गोरखाली सेनाले कर्णेल किनलक नेतृत्वको उन्नत हतियारधारी ब्रिटिस सेनालाई सिन्धुलीगढी किल्लामा पराजित गरेको थियो । जहाँ करिब १६ सय ब्रिटिस सेनाको मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री योगेश भट्टराई, सिन्धुलीका संघीय सांसदहरु हरिवोल गजुरेल र गणेश पहाडीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीले प्रकाशन गरेको सिन्धुलीगढीको चित्रकथामा संसारभरि साम्राज्य विस्तार गरिरहेको ब्रिटिस साम्राज्यका विरुद्ध कसरी गोरखाली नेपाली सेनाले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा गौरवपूर्ण लडाई लडेर उनीहरुलाई हराएको थियो भन्ने दर्साउन खोजिएको छ ।

राज्य एकीकरणका शिलशिलामा पृथ्वीनारायण कसरी सिन्धुली र मकवानपुरसम्म आएर यहाँको महत्वलाई आत्मसात गरेर त्यसको नेतृत्व गरेको थिए भन्ने कुरालाई पुस्तकमा चित्रबाट स्पष्ट पार्ने जमर्को गरिएको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले गोरखादेखि सिन्धुलीगढी हुदै फिक्कलसम्म एकीकरण पदयात्रा पर्यटकीय मार्ग निर्माण गर्ने योजना रहेको बताए । उनले सिन्धुलीगढीमा भएको नेपाल–अंग्रेजबीचको युद्ध नेपालको मात्रै नभएर बेलायतको लागि पनि एतिहासिक महत्वको विषय भएको बताए ।

मन्त्री भट्टराईले यो क्षेत्रलाई एकीकरण मार्ग बनाउन र सिन्धुलीगढीलाई एतिहासिक स्थालको रुपमा संरक्षण र विकास गर्न बेलायतको पनि साथ सहयोग जुटाइने उनको तर्क रहेको छ । विश्वविजेता बेलायतका लागि नेपालीहरुसँग सिन्धुलीगढी किल्लामा व्यहोर्नुपरेको हार एउटा रोचक र गन्तव्ययोग्य विषय हुनसक्ने भन्दै त्यसका लागि बेलायतसँग कुरा गरिने बताए ।

सिन्धुलीका सांसद तथा पूर्व कृषिमन्त्री हरिवोल गजुरेलले सिन्धुलीगढीको एतिहासिक महत्वका बारेमा धेरैपटक धेरै निकायसँग गम्भीर कुराकानी भएको स्मरण गराए । सिन्धुलीगढीको संरक्षण र विकासका लागि गर्न सकिनै सबै काम गर्न सबैपक्षसँग विगतदेखि नै पहल भइरहेको उनको भनाई छ ।

अंग्रेजसँगको विजयपछि उक्त किल्लामा रहेका हतियार र सामाग्री सिन्धुलीगढीबाट अन्यत्र लगिएकाले अब ति सबै सामान फर्काउने पहल भएरहेको पनि उनले बताए । उनले सिन्धुलीगढीको पर्यटकीय विकासका लागि बृहत गुरुयोजना बनाएर स्थानीय सर।कार, प्रदश सरकार र संघीय सरकारको सहकार्यमा इमानदारितापूर्वक काम हुनुपर्ने बताए ।

समृद्ध सिन्धुली अभियानको पहलमा आयोजित उक्त कार्यक्रमका अध्यक्ष लिलानाथ घिमिरेले सिन्धुली–२ का सांसद हरिवोल गजुरेलले ४० लाख रुपैंया निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास कोष (सांसद विकास कोष) बाट (आ.व.२०७५/७६) मा हरिहरपुरगढीदेखि  सिन्धुलीगढीसम्म पर्यटकीय पदमार्ग बनाउन  हालिदिएपछि नेपाली सेना समेतको सहयोगमा पैदल बाटोृ बनाउने काम सुरु गरिएको जानकारी दिए । उक्त कार्यलाई निरन्तरता दिन मन्त्रालयले बजेटको व्यावस्था गरिदिनुपर्ने घिमिरेको माग रहेको छ ।

कार्यक्रममा इतिहासविद् प्राध्यापक डाक्टर दिनेशराजपन्थी र केही पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहिबार, अशोज १५, २०७७