खेल

ग्लोबल टी–२० मा सोमपालको बिर्सनलायक डेब्यू, सन्दीप पनि फिक्का

Cricketers Sandeep Lamichhane (left) and Sompal Kami at a press meet in Kathmandu on Friday, June 21, 2019. Photo: THT

विनिपेग हक्सबाट खेलिरहेका सोमपाल बलिङ र ब्याटिङ दुवैमा असफल बनेका हुन् । पहिलो ब्याटिङ गर्दै विनिपेगले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रनको बलियो स्कोर खडा गरेको थियो । सोमपाललाई ८ औं नम्बरमा ब्याटिङ गर्न पठाइएकोमा उनले ५ बल खेलेर एक रन मात्र बनाउन सके ।

एक सय ९६ रनको विशाल लक्ष्य लिएर उत्रेको एड्मन्टनले आक्रामक ब्याटिङ गर्‍यो। हङकङका ब्याट्सम्यान अंशुमान रथ चम्किँदा विनिपेगका बलरहरु निरिह देखिएका थिए । अंशुमनले ५० बलमा ८७ रनको विष्फोटक इनिङ खेले ।

छैटौं बलरका रुपमा उतारिएका सोमपालले २ ओभरमै ३३ रन खर्चेर महंगा सावित भए । उनले कुनै विकेट लिन सकेनन् । नवौं ओभरमा उनले मोहम्मद हाफिजबाट एक छक्कासहित १५ रन खाएका थिए । १५ औं ओभरमा उनको बलिङ झन् बिग्रियो र १८ रन खर्चिन पुगे । त्यसपछि उनी बलिङमा फर्किन पाएनन् ।

सो खेल एड्मन्टनले आठ विकेटले जित्यो । पहिलो म्याचमा विर्सनलायक प्रदर्शनपछि सोमपालले फेरि मौका पाउने सम्भावना कमजोर बनेको छ ।

सन्दीप पनि फिक्का

नेपालका अन्तर्राष्ट्रिय टी–२० स्टार सन्दीप लामिछानेले पनि ग्लोबल टी–२० को यस संस्करणमा राम्रो सुरुवात गर्न चुकेका छन् । ब्राम्प्टोन वल्भ्सविरुद्धको म्याचमा उनले एक विकेट लिए पनि महँगा सावित भए ।

पहिलो ब्याटिङमा निम्त्याइएको ब्राम्प्टोनले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय २२ रनको विशाल स्कोर खडा गरेको थियो । जसमा सन्दीपले पूरा चार ओभर बलिङ गर्दै ४४ रन खर्चिए । उनले न्यूजिल्यान्डका ब्याट्सम्यान कोलिन मुनरोलाई आउट गरेका थिए ।

ब्राम्प्टोनाक लागि हङकङका ब्याट्सम्यान बबर हायातले विष्फोटक इनिङ खेल्दै १८ बलमै ४८ रन बनाए । उनले ५ छक्का प्रहार गरेका थिए ।

२ सय २३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको सन्दीपको टिम टोरन्टो नेसनल्सले २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन मात्र बनाउन सक्यो । सन्दीपले ब्याटिङको मौका पाएनन् । भारतीय ब्याट्सम्यान युवराज सिंहले २२ बलमा ५ छक्का सहित ५१ रन बनाए पनि टिमलाई जिताउन त्यो प्रर्याप्त भएन । म्याच टोरन्टोले ११ रनले जित्यो ।

प्रकाशित मिति: आइतवार, साउन १९, २०७६