अन्तर्वार्ता/विचार हेडलाईन न्युज

प्रम ओलीका दुई अध्यादेश : समय र नियत दुबै गलत

बिदुर खड्का,
सुनकोशी न्युज, २०७७ वैशाख ९ गते,
कमिला मार्न तोप कसैले पड्काउदैन । राजपा वा समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीले अध्यादेश ल्याएको भनेर क्याविनेट बैठकमा भनेको कुरा विश्वास गर्न सकिदैन । राजपा वा समाजवादी पार्टी फुटाएर अहिले भरखरै सरकारले कुनै गजबको तीर मार्न सक्ने पनि होइन । किनकी राजपा वा समाजवादी सरकारमा सामेल हुदैमा अहिले कोरोना नियन्त्रण हुने वा अर्थतन्त्र उकासिने वा समृद्धि फुत्तै आइहाल्ने होइन होला, सुविधासम्पन्न बहुमतको शक्तिशाली सरकार छँदैछ ।

प्रतिनिधिसभामा खालि रहेको उपसभामुख पद राजपालाई दिने कुरा अनुसार राष्ट्रियसभाको चुनावमा नेकपा र राजपाबीच सहकार्य भएको थियो । उपसभामुखसँगै सरकारमा पनि सहभागि हुनुपर्ने सरकारको सर्तमा राजपा अड्कीएको हो । राजपाको एउटा खेमा सरकारमा नजाने, समाजवादी पार्टीसँग एकता गर्ने भन्ने पक्षमा छ भने अर्को पक्ष समाजवादी पार्टीसँग एकता गरे पनि नगरे पनि सरकारमा सामेल हुने र उपसभामुख पद पनि खाने पक्षमा छ । उपसभामुख खानेपक्षमा रहेको पंक्तिलाई फुटाएर सरकारमा सहभागी गराउने कुराका लागि अहिलेको अध्यादेश ल्याइएको ओलीले बताएका छन् । तर देश जुन परिस्थितिसँग जुधिरहेको छ, त्यो हिसाबले अहिले यो अध्यादेश यतिनै कारणले मात्रै ल्याइएको हो भनेर विश्वास गर्न सकिदैन । किन कि राजपालाई सरकारमा सहभागि गराउदैमा कोरोना भाग्दैन ।

अहिले पार्टीको कुनै पनि तहको निर्णय र निर्देशन नमान्ने उद्घोष सहित ओली सरकार पार्टीको आधिकारिक लाईनभन्दा फरक ढंगले चलिरहेको छ । पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिले विभिन्न समयमा गरेका विभिन्न निर्णयहरु सबै नेता, कार्यकर्ता र सरकारका लागि पनि उत्तिकै वाध्यकारी हुन्छ । तर ओली सरकार र उनका गुटका मान्छेले बैठकमा निर्णयको बिरोध नगर्ने तर व्यवहारमा त्यसको उल्लंघन गर्ने नीति निरन्तर लिइरहेका छन् ।

पार्टीको निर्णय र लाइनभन्दा बिपरित चल्दा परिणाम प्रत्युत्पादक आउन थालेपछि सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्ने पार्टीभित्र उठेको आवाजलाई सरकारबिरोधीको संज्ञा दिदै माथिल्लो तहदेखि भूइँतहका कार्यकर्तालाई समेत ओलीइतरका नेता, खासगरी पूर्वमाओवादीखेमामाथि बौलाहा कुकुरले जसरी झम्टीन निर्देशन जारी गरियो । केही समयपहिला आलोचना गर्नेमाथि अरिंगाल बनेर आक्रमण गर्न ओलीले दिएको निर्देशनको सर्वत्र निन्दा भएको जगजाहेरै छ । अहिले नेकपाका कार्यकर्तालाई अरिंगाल उपनामले उडाउने गरिन्छ ।

ईश्वर पोखरेल लगायत केही मानिस माओवादी केन्द्रसँगको एकतामा पहिलादेखि नै बिरोधी थिए । उनले एकताको खुलेरै बिरोध गरेका थिए । प्रचण्डलाई नेता नमान्ने अराजक अभिव्यक्ति पनि दिएका थिए । यसमा उनको आफ्नै स्वार्थ थियो । उनको यसमा गुटगत र व्यक्तिगत स्वार्थ छ । एमालेमा माधव नेपाल, झलनाथ खनाल र केपी ओलीको शक्तिशाली गुट छ । बामदेव गौतमको पनि गुट छ । तर उनी यो वा त्यो पक्षमा विलय हुने खालका छन् । पछिल्लो समय झनाथको गुट नेपालमा समेटिएको छ । ओली कमजोर स्वास्थ्य अवस्थामा रहेका कारण त्यो शक्तिशाली गुटको सेकेण्डम्यान तथा पार्टीको महासचिव समेत रहेकाले सरकार र पार्टीकोे दुरुपयोग गरेर केपिको उत्तराधिकारीका रुपमा प्रस्तुत हुने र पार्टी अध्यक्ष हत्याउने उनको स्वार्थ हो । अध्यक्ष नपाए पनि ओलीको सेखापछि त्यो गुटको नेता बन्दै पूर्वएमालेका केही कट्टरपन्थीको भावनामा खेल्दै त्यसको नेता बन्ने र निरन्तर प्रचण्ड र नेपालको टाउको दुखाइरहने उनको नियत देखिन्छ । उनी र उनीनिकटका अहिलेका अभिव्यक्ति र गतिविधिले यसको पुष्टि गरिरहेको छ ।

अहिले सरकारमा यो गुट हावी छ । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री उनकै गुटका पोखरेल, परराष्ट्र मन्त्री उनकै, सञ्चारमन्त्री गोकुल बास्कोटाका बारेमा यहाँ धेरै लेख्नै पर्दैन, उनको नामै काफी छ । भानुभक्त ढकाल र युवराज खतिवडा त स्ट्याम्प नै भैहाले । सल्लाहकार टिमको कुरै नगरौं । चारैजना मुख्यमन्त्री यही गुटका छन् । १, ३, ४ र ५ । यत्ति भएपछि यो गुटले पार्टीलाई र पार्टीको निर्णयलाई ख्यालख्यालको बनाइदिनु अस्वभाविक होइन ।

के यो गुट साच्चीकै शक्तिसाली भएर यसो गरिरहेको छ त ? त्यसो होइन । बद्मासी र मक्कारीका कारण यसो गरिरहेको छ । माओवादीका कार्यकर्ता र नेता युद्धको फलामे अनुशासनमा बसेर आएकाले पार्टीको निर्णयभन्दा दायाँबाँया हुने कुरै हुदैन । माओवादी नेतालई भरखरै बनेको पार्टीमा स्थायित्व र भावनात्मक एकता कायम गर्नुछ भन्नेमा एकमत छन् । जथाभावी बोल्ने र निर्णय गर्ने कुरामा सचेत छन् । त्यसो गरेका छैनन् । नेपालपक्ष पनि पार्टी एकताको भावनालाई कमजोर पार्ने पक्षमा छैन । पाटीृ एकताताका संगठन मिलाउदा ओलीले नेपाल समूहका धेरै मानिसलाई जिम्मेवारी नदिएको, मुख्य जिम्मेवारी नदिएका कारण नेपाल ओलीसँग रुष्ट भएका थिए ।

ओली गुटका मान्छे जे मनमा आयो त्यो बोल्ने र गर्ने काम गरिरहेका छन् । ओली र सरकारका मान्छेको गल्तीकमजोरी औल्याएर सुधारको लागि अनुरोध ग¥यो भने पूर्वपार्टी वा गुटको बिल्ला भिराएर गाली गर्ने र सरकारलाई असफल पार्न षडयन्त्र गरेको हुटिङ गर्ने गरिहाल्छन् । अनियन्त्रित भ्रष्टाचार र नाङ्गो कमिशनको खेल नियन्त्रण गर भन्दा सरकारलाई असफल पार्न खोजेको भन्दै बौलाउदै हिड्ने गरेका छन् । ओम्नी, यति र इ–सेवाको बदमासी प्रमाणसहित सार्वजनिक हुदा पनि, मन्त्रीकै छोराहरु सामेल भएको प्रमाण सार्वजनिक हुदा पनि ओली सरकार त्यसलाई ढाकछोप गर्ने असफल प्रयास गरिरहेको छ । ओम्नीलाई २८ करोड भुक्तानी दिन नमानेपछि स्वास्थ्य सेवा विभागका लेखाअधिकृतको सरुवा गरियो । त्यसपछि ल्यायएका लेखाअधिकृतले पनि दिन नमानेपछि मन्त्रालयबाट निरन्तर दबाब दिने काम भइरहेको छ । संचारमन्त्री बासकोटा कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट हटाइएका थिए तर उनी आफू गाईजस्तै सोझो भएकाले षडयन्त्र गरेर हटाइयो भनिरहेका छन् । इतिहासकै खराब अर्थमन्त्री सावित खतिवडालाई सांसद नहुँदा समेत रबर स्ट्याम्पका रुपमा छ महिनाको लागि भनेर फेरि अर्थमन्त्री बनाएका छन् । जबकि राजनीतिक अर्थशास्त्रका दिग्गज पार्टीभित्र बग्रेल्ती छन्, सफल प्रमाणित पनि भएका छन् ।

यसरी ओलीले सरकारलाई खराब कार्यका लागि समेत दुरुपयो गरिरहेका छन् । पार्टीका बहुमत नेता यसको विपक्षमा छन्, सुध्रीन निरन्तर खबरदारी गरिरहेका छन् । तर ओली टसको मस छैनन् । प्रचण्ड, नेपाल र पार्टीका निर्णयको खिल्ली उडाउन, खुइल्याउन प्रधानमन्त्रीका सल्लाहकारहरु गिद्धझै सरकारी पैसा खाँदै स्यालझैं लागिरहेका छन् । ओली र पोखरेलले उनीहरुलाई झ्याप्प अंगालो हालेर कुखुराले चल्ला छोपेझैं संरक्षण गरेका छन् र वर्षाको भ्यागुताजस्तो ट्यार्र ट्यार्र कराउन लगाइरहेका छन् । होइन भने विष्णु सापकोटा जुगलहरुले ओली हाम्रा आदर्णीय अध्यक्ष हुन् भनिरहदा सूर्य थापा र गणेश वस्नेतहरुले प्रचण्डलाई अध्यक्ष मान्दिन भन्ने अराजकता कहाँबाट पैदा हुन्छ ?

बिचार, कार्यदिशा, आन्दोलन र परिवर्तनमा राजनीतिक भूमिकाभन्दा पनि भरखरै भएको चुनावी परिणामको आधारमा निर्धारित पार्टीको अस्थायी भौतिक आकारको आधारमा पार्टी एकता गर्ने रुढी गर्नु नै पहिलो भूल थियो । बराबरी हैसियतमा पार्टी एकता भएको भए कसैले कसैमाथि हावी हुने धृष्टता गर्नुपर्ने थिएन । तर माओवादीपक्ष एकताको लागि बढी जिम्मेदार भएर लचकता देखायो र आफू कमसंख्यामा प्रस्तुत हुने महानता देखायो । संसदीय राजनीतिमा भरखरै प्रवेश गरेको माओवादीसँग धेरै अपेक्षा गरेका जनताकोृ सपना पूरा हुन नसक्दा माओवादीलाई कम भोटहाले पनि जनतको माया र आशा फेरिपनि माओवादीसँगै थियो, केपी ओलीसँग होइन । तर त्यो कुराको गलत फाइदा उठायो ओली गुटले । संयुक्त रुपमा आएको बहुमतलाई भजाउदै सरकारको नेतृत्व गरेर जनताको आकांक्षाबिपरित काम गरिरहेको छ । पार्टीलाई वेवारिसे बनाउने धृष्टता गरिरहेको छ ।
ओलीको अहिलेको मनोविज्ञान सर्वसत्तावादी छ, एकमनावादी र तानाशाही छ । यो पार्टी र देशको लागि खतरायुक्त छ । पार्टीमा प्रचण्ड र नेपालहरुलाई पंगु बनाएर राख्ने वा पार्टी छाडेर जान बाध्य बनाउने कोणबाट निर्देशित छ । खासगरी अब नेकपामा प्रचण्डको पार्टीका मान्छेको काम छैन भन्ने खाले मनोविज्ञानबाट, सिंगो पार्टी कब्जा गर्ने मनोविज्ञानमा ओली देखिन्छन् । ओलीले प्रचण्डको क्षमता बुझेका छन् तर स्वीकार्दैनन् । प्रचण्ड ओलीका यस्ता दोकलागिरिसँग हारेर पार्टी छाडेर भाग्ने नेता होइनन् । बरु सबैखाले खराब प्रवृत्तिमाथि विजय हासिल गरेर, सबैको चित्त बुझाएर सबैको नेता बन्न सक्ने क्षमता भएको नेपाली राजनीतिको इतिहासकै अद्वितिय नेता हुन् । उनले ओली, नेपाल, खनाल र गौतमलाई नेताकै रुपमा स्थापित गरेर, नसिध्याइकन आफूले पार्टीको नेतृत्व गर्ने, सरकारको नेर्तत्व गर्ने विद्वता, सुझबुझ र क्षमता राख्दछन् । यो गुण र क्षमता माधव नेपालमा पनि छ । तर ओलीमा आफ्नो गुटका चल्ला छोपेर बस्नेबाहेक अरुलाई झम्टीनु नै एकमात्र फरक क्षमता हो । आफूले भनेको मान्ने मान्छे राष्ट्रपति छन्, सरकारको नेतृत्व छ, सत्ता छ, बहुमत छ, जे मनलाग्यो त्यो फ्याट्ट निर्णय ग¥यो, कार्यन्वयन ग¥यो । रोक्ने कोही माइबाप छैन, खबरदारी गर्नेलाई ख्वाप्पै निल्ने अरिंगाल छन्, अनि किन मान्नुपरो प्रचण्डलाई ? किन गन्नुपरो नेपाल, खनाल र गौतमलाई ? को हो र त्यो रावल ? ज्यानको धम्कीका कुरै नगरुम् ।

पार्टीलाई पार्टी नगन्ने मनोविज्ञान हावी भएका बेला, आफूबाहेक अरुलाई नेता नदेख्ने रोग लागेका बेला, पार्टी, सरकार, विचार, दर्शन, माक्र्सवाद सबै मै हुँ, मै राज्य हुँ, मै कानुन र संविधान हुँ, मैले मात्रै जे पनि गर्नसक्ने महामानव हुँ भन्ने स्ट्रोङ्ग्ली लागिरहेका बेला आफूलाई सांसद, प्रधानमन्त्री, पार्टीको अध्यक्ष र शक्तिशाली नेता बनाउने पार्टी छ, त्यसका नेता–कार्यकर्ता छन्, सबैभन्दा ठूलो कुरा त महान सचेत चेतनाका धनी सार्वभौम नेपाली जनता छन् भन्ने तथ्य र सत्य ओलीले स्वीकार्ने सवालै आउदैन । उनको गुटले स्वीकार्ने कुरै भएन । यस्तो बेला उनलाई लागेको हुनसक्छ, यस्ता पार्टी त म यत्तिकै चुट्कीको भरमा दुईचार चुट्कीला र टुक्का भनेरै बनाइदिन्छु । सत्ता मैसँग छ, यसका सबै संयन्त्र मसँगै छन्, सबै मेरो र सत्ताकै वरिपरि चक्कर काट्ने हुन् । किन जान्छन् प्रचण्ड र नेपालको पछाडि मान्छे ? भन्ने लागेको हुनसक्छ ओलीलाई ।
प्रचण्ड र नेपालले यसरी नै अप्ठेरो पारिरहे, निहँ खोजिरहे आफूलाई झोक चलेका बेला तुरुन्तै देखाइदिन पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश बनाएर ठिक्क पारिराखेका हुन् । राष्ट्रपति पनि यसमा स्ट्रोङ्ग्ली कन्भीन्स् देखिनुहुन्छ । उहाँलाई ओलीले गरेपछि ठिकै भन्ने लागेको हुनसक्छ । पेस गर्नेबित्तिकै पास भएको यो नै पहिलो अध्यादेश होला इतिहिासमा, सायद ।

यसरी हेर्दा शक्तिको उन्मादले पैदा गरेको ग्रन्थीका कारण सोचिएको खराब परिणामका लागि समेत यो अध्यादेश ल्यायएको आभास अहिले नेपाली जनताले गरेका छन् । कामना गरौं, यो सत्य नहोस् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७७