शिक्षा/स्वास्थ्य हेडलाईन न्युज

कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सर्वोच्चको अन्तरिम आदेश

सुनकोशी न्युज,
२०७६ चैत १८ गते
काठमाण्डौं । सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना भाइरस (कोभिड १९) सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको मंगलबारको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेशमा भनिएको छ, ‘निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आइसियू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु। स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रबन्ध मिलाउनू ।’
निजी अस्पताल कोरोना संक्रमणका बिरामी उपचार गर्नबाट पछि हटेपछि सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
रिटमा अहिलेको अवस्थामा स्वास्थ्य संकटकालको स्थिति रहेको भन्दै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत अत्याश्यक कानुन ल्याउन माग गरिएको थियो।रिटको पक्षमा रिट निवेदक पौडेल र सरोजकृष्ण घिमिरेसहित वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अघिकारी, अधिवक्ता पूर्णिमा रिमाल गुरागाई, टीकाराम भट्टराई, राजु खड्कालगायतले बहस गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १८, २०७६