हेडलाईन न्युज

प्रहरीका तालिमप्राप्त कुकुरले अछामका वडाध्यक्ष मृत्युको अनुसन्धान गर्ने

सुनकोशी न्युज,
२०७६ माघ २१ गते
धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्यु्को अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने बताए । ‘हामी घटनास्थलमा पुगिसकेका छौं’ उनले भने, ‘धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि पुग्दै छ । त्यसपछि तथ्य बाहिर आउने छ ।’

वडा अध्यक्ष धामीको शव मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो । उनको अनुहारमा चोट देखिएको प्रहरीले जनाएको छ ।

संघीय प्रहरी इकाई कार्यालयका धनगढीका प्रमुख तथा सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली पठाइएको बताए ।

‘धनगढीबाट सात जनाको टोली त्यसतर्फ गइसकेको छ’ उनले भने, ‘कुकुरसहितको टोली पुगेपछि घटनाबारे थप तथ्य बाहिर आउने अपेक्षा गरेका छौं ।’

प्रहरी वरिष्ठ उपरीक्षक बोगटीले घटनास्थल सुरक्षित रूपमा राखेको बताए । ‘प्रहरी अहिले घटनास्थल सिल गरेको छ’ उनले भने, ‘धनगढीको टोली पुगेपछि बल्ल अनुसन्धानले गति पाउँछ ।’

मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको पञ्च देवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले बताइन् । उपमेयर चलाउनेले बर्बर ढङ्गले हत्या गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने बताइन् ।

‘गाईबस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको छ’ उनले भनिन्, ‘अन्यत्रै हत्या गरेर यहाँ फालिएको हामीले अनुमान गरेका छौँ । यसमा जो सुकै संलग्न भएपछि तत्काल पक्राउ गरी कडा कारबाही हुनुपर्छ ।’

शिक्षक पेसाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वा्चित धामीको मृत्यु छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीलाई समेत ल्याउन पहल भइरहेको उनले जानकारी दिइन् । अहिले पनि वडा अध्यक्षको शव घटनास्थलमै रहेको छ ।

घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको हुँदा अहिले नै केही भन्न नमिल्ने अछामका प्रहरी प्रमुख भारती बताउँछन् ।

पञ्च देवल विनायक नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिनको माग गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २१, २०७६