स्थानीय हेडलाईन न्युज

सिन्धुलीमा ११ दिने मरिण महोत्सव सुरु, मन्त्री भट्टबाट उद्घाटन

सुनकोशी न्युज,
२०७६ माघ ७ गते
मरिण । मरिण गाउँपालिकाको सहानमा ११ दिने मरिण महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज एक भव्य समारोहबीच महोत्सवको उद्घाटन गर्नुभयो ।
सिन्धुली उद्योग वाणिज्य संघ, मरिण उद्योग वाणिज्य संघ र मरिण गाउँपालिले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् । मरिण गापा, वडा नं. ४, सहानको फाँटमा संचालन गरिएको महोत्सवमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको छ ।
महोत्सवमा मरिणखोलाको प्रख्यात माछा खाना, लोकल कुखुरा खाना, स्थानीय कृषि उपज लगायत राखिएको छ । मरिण कृषि क्याम्सले गड्यौला प्रविधिबाट मल कसरी उत्पादन हुन्छ भनेर देखाउन स्टल संचालन गरेको क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो ।
मेलामा लालबन्दी, सिन्धुलीमाढी, बागमति, चन्द्रनिगाहपुर लगायत शहरबाट स्टल राख्न व्यापारीहरु पुगेका छन् । भारतबाट आएका विभिन्न मनोरञ्जनात्मक कला र खेलले मेलामा रौनक थपेको छ । पिङ, मौतका कुवा लगायत दर्जनौं मनोरञ्जनका खेलहरु राखिएका छन् । यसले मेलामा सहभागीलाई भरपुर मनोञ्जन दिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।
मेलामा कलाघर सिन्धुलीका कलाकारहरुले विभिन्न कला प्रस्तुती गरेका थियो । साथै विभन्न झाँकीहरु पनि प्रदर्शन गरिएको छ । कार्यक्रममा माझी, मगर, तामाङ, नेवार, लगायतका जातिको झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सव माघ सात गते देखि १८ गतेसम्म ११ दिन चल्नेछ । आज उद्घाटनको दिन मेलामा लगभग पाँचहजारभन्दा बढी सहभागीले मेला अवलोकन गरेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं. २ का सदस्य तथा पूर्वकृषि मन्त्री हरिबोल गजुरेल, नेकपाका नेता रामकुमार पौडेल, काग्रेसका जिल्ला नेता उज्ज्वल पौडेल, प्रदेश सांसद वषन्त माझी, हरिहरपुरगढी गाउँपालिका का अध्यक्ष कारसाङ पाख्रीन, सिन्धुली उबासंघका अध्यक्ष अमरेशचन्द्र वैदार लगायतको सहभागीता रहेको थियो ।

उद्योग वाणिज्य संघ मरिण शाखाका अध्यक्ष चिनधोज बम्जनले कार्यक्रमको अध्यक्षता गरेका थिए भने मरिण गापाका अध्यक्ष पानीराज बमजनले सहभागीलाई स्वागत गरेका थिए ।
मरिणमा स्थानीय उत्पादन बेच्ने, बाहिरी मानिसलाई मेलामा आकर्षित गरेर आर्थिक उपार्जन गर्नेभन्दा पनि स्थानीय जनताले रमाइलो गर्ने र त्यसबापत तिरेको पैसा इण्डीय पुग्ने मात्रै देखिएको नेकपाका नेता रामकुमार पौडेल बताउछन् । आगामि दिनमा गाउँमै निर्माण गरिने मनोरञ्जनका साधन जस्तो रोटे पिङ, लिङ्गे पिङ लगायतको व्यवस्था गरेर कार्यक्रमलाई मौलिक बनाउने र आम्दानी गर्ने खाले मेला आयोजना गरिने पौडेलको तर्क छ ।

प्रकाशित मिति: मङ्लबार, माघ ७, २०७६