हेडलाईन न्युज

अन्ततः अग्नी सापकोटा नै सभामुखको उम्मेदवार सर्बसम्मत

सुनकोशी न्युज,
२०७६ माघ ५ गते
काठमाडौँ । लामो रस्साकस्सीपछि नेकपाले सभामुखको उम्मदवार टुङ्गो लगायो । अध्यक्ष प्रचण्ड लगायतले पेस गरेको सापकोटाको नाममा प्रधानमन्त्री केपी ओली अकमकाएपछि कसलाई सभामुखको उम्मेदवार बनाउने भनेर लामो समय वहस भयो ।
ओलीले आफूनिकट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउन दबाब दिइरहेका थिए । चुनावी गठबन्धनपछि बनेको सरकारका संरचनामा सभामुख पूर्वमाओवादीको भागमा परेको थियो । सभामुख महराले राजीनामा दिएपछि रिक्त रहेको पदमा सुवासचन्द्र्र नेम्बाङले दाबी गरेपछि पूर्वमाओवादी पक्षका नेताहरु सभामुख पद पूर्वमाओवादीमध्यकैले पाउनुपर्छ भन्ने दाबी गरिरहेका थिए । नेम्बाङले नपाउने अवस्था देखेपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई अघि सारियो । तुम्बाहाम्फेका कारण पनि केही दिन अलमल भयो । पार्टीले उनलाई राजीनामा दिन दिएको निर्देशनलाई पनि उनले लत्याइदिएकी थिइन् । सभामुख आफैलाई बनाउनुपर्ने उनको अडान थियो ।
यसै विषयमा कुरा नमिल्दा अध्यक्ष र प्रमबीच चार दिनसम्म सम्वादविहिनताको अवस्था बन्यो । अध्यक्ष प्रचण्डले पेश गरेका अग्नी सापकोटालाई कुनै पनि हालतमा हुदैन भनेर ओलीले अड्डी लिएपछि विकल्पमा प्रचण्डले स्थायी कमिटि सदस्य हरिबोल गजुरेलको नाम पेश गरेका थिए । गजुरेलको नाममा नाइ भन्न नसकेका आलीले आइतबार अपरान्ह अन्ततः हुदैहुदैन भनिएका सापकोटालाई नै सभामुखको उम्मेदवार बनाउन सहमत भएका छन् । अध्यक्ष प्रचण्ड र प्रम ओलीबीच विहान सापकोटाको नाममा सहमति जुटेपछि अपरान्ह चारबजे प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय सर्वसम्मतीले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । माघ ६ गते सभामुखको लागि संसदमा चुनाव हुनेछ ।

प्रकाशित मिति: आइतवार, माघ ५, २०७६