पर्यटन हेडलाईन न्युज

घुम्न गएका ४ कोरियन र २ नेपाली अन्नपूर्ण आधार शिविरबाट बेपत्ता

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको बताउँदै उनले यो टिममा अन्य नेपाली पनि हुनसक्ने बताए । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६