हेडलाईन न्युज

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेश संसदीय दलले प्रदेश ३ स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेको छ।

पाँच दिनसम्म हेटौंडामा बसेको दलको बैठकले शुक्रबार केन्द्रीय सचिवालको निर्देशन अनुसारै राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए।

‘सबै माननीयले आफ्ना मत राख्नुभयो र हामी अन्नतः एउटै निष्कर्षमा पुगेका छौं’, उनले भने, ‘प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमतीमा सबै नेकपाका सबै माननीय एकमत भएर निर्णय गरेका हौं।’

पुस २७ गतेभित्र मतदान प्रक्रियाबाट प्रदेशसभाबाट नाम र राजधानी टुङ्गो लाग्ने पौडेलले बताए। उनका अनुसार नाम र राजधानीको प्रस्ताव भोली शनिबार प्रदेशसभामा दर्ता हुनेछ।
पार्टीभित्र प्रदेशको राजधानी र नामबारे फरक मत राख्ने माननीयले पार्टीभित्र आफ्नो लिखित मत राख्न पाउने निर्णय गरेको नेकपा ३ नम्बर प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले जानकारी दिए।

‘पार्टीभित्र सबै साथीहरुले स्वतन्त्र मत राख्नुभएको छ, कसैको फरक मत भए लिखित मत राख्ने छुट दिएका छौं’, उनले भने, ‘तर प्रदेशसभामा भने फरक मत राख्न पाइदैन,नाम र राजधानीको एउटै मात्र प्रस्ताव जान्छ,यसमा सबै सहमत भएर निर्णय गरेका हौं।’

प्रदेशसभा सदस्य तथा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी केन्द्रीय सचिवालयको निर्णय सुरुमा आफूलाई चित्त नबुझे पनि सबै साथीले आफ्नो धारण राखेपछि एउटै नाम र राजधानीको प्रस्ताव अघि बढाउन सहमत भएको बताइन्।

‘यो निर्णय र साथीहरुको फरक मत पार्टीको सम्पत्तिको रुपमा रहन्छ, हामी केन्द्रीय सचिवालयमा पनि पठाउँछौं’, उनले भनिन्, ‘अब नाम र राजधानीबारे भने कसैको असहमति छैन।’

प्रदेशसभा ३ मा कुल एकसय १० सदस्यमध्ये नेकपाका ८० प्रदेशसभा सदस्य छन्। आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६