विदेश हेडलाईन न्युज

इरानसँग ‘बिनासर्त वार्ता’ गर्न अमेरिका तयार

अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ।तर संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ।

इरानले हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसंघलाई बताएको छ।

सुलेमानी इरानमा धेरै शक्तिशाली मानिन्थे।उनलाई इरानको नीति निर्माताका रूपमा हेरिन्थ्यो। उनको अन्तिम संस्कारमा दशौं लाख इरानीहरू सहभागी भएका थिए।उनको शवयात्रामा भागभाग हुँदा ५० भन्दा बढी मानिसले ज्यान गुमाए भने दुई सयजना भन्दा बढी घाइते भएका छन्।

इरानका सर्वोच्च नेता आयतूला अली खामनेइले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्।

कसिम सुलेमानीको अन्तिम संस्कारमा दशौँलाई इरानीहरू सहभागी भएका थिए।सुलेमानीसँग इराकी विद्रोही समूहका नेता पनि मारिएको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन्।

तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आक्रमण नगर्न भनेको बताएका छन्। अमेरिकी संसद्‍को तल्लो सदनमा बिहीबार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ।

प्रकाशित मिति: बिहिबार, पुस २४, २०७६