हेडलाईन न्युज

प्रेम गरेको निहुँमा छोरीको हत्या : आमा र काका पक्राउ, बुवा फरार

२२ पुष २०७६

वीरगन्ज : गाउँकै युवकसँग प्रेम सम्बन्ध राखेको निहुँमा एक किशोरीको उनकै बुवा आमाले हत्या गरेको घटना तीन हप्ता पछि मात्रै सार्वजनिक भएको छ। पर्साको पोखरीया नगरपालिका ९ शीवबर्वाकी १५ वर्षीया पुनिता कुमारीको उनकै बुवा-आमा र काकाले हत्या गरी शव गाउँ नजिकको खोला छेउमा लगेर जलाइ दिएको घटना सार्वजनिक भएको हो ।

हत्यामा संलग्न रहेका पुनिताका बुवा वीरेन्द्र महत्तो तत्व फरार छन्। उनकी आमा शीवकली देवी, काकाद्वय सन्तोष महत्तो तत्वा, राजेन्द्र महत्तो तत्वा र त्यहि परिवारमा बस्दै आएका टयाक्टर चालक जितेन्द्र यादवलाइ भने प्रहरीले पक्राउ गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार, पुनिताको हत्या गरी शव जलाएको घटनामा संलग्न रहेको आशंकामा चारजनालाई सोमबार पक्राउ गरेको हो । राठौरले भने, ‘पुनिताका बुवा वीरेन्द्र भने फरार छन्। उनको खोजी भइरहेको छ ।’ पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको रौठौरले बताए ।

गाउँकै एक युवकसँग प्रेम सम्बन्ध रहेको सुइको पाएपछि समाजमा परिवारको बेइज्जत हुने डरले परिवारका सदस्यले पुनिताको हत्या गरी जलाइ दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक राठौरले बताए ।

‘पक्राउ परेकाले हत्याको घटना २०/२२ दिन पहिलेको हो भनेका छन्, तर यकिन मिति अझै खुलेको छैन, राठौरले भने, ‘प्रहरीले सोमबार शव जलाइएको स्थानमा पुगेर शवका केही अवशेष संकलन गरेर ल्याएको छ, परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको छ । ‘

प्रकाशित मिति: मङ्लबार, पुस २२, २०७६