बागमती हेडलाईन न्युज

काठमाडौंका सडकबाट पुरुष, महिला र बालबालिका सहित ४ दिनमा २१५ जना बेसहाराको उद्धार

काठमाडौं । रातको समय सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई गएको ४ दिनमा उद्धार गरिएको छ । मंसिर २९ गते महानगर दिवसका अवसरमा अभियान शुभारम्भ गरेपछि पुष २ गतेसम्मका ४ दिनमा ३१ जना महिला, ३ जना बालक र १ जना बालिकासहित यत्तिका संख्यामा सडकबाट मानिसलाई उद्धार गरिएको हो । शुक्रबार सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको ‘बेसारा, अभिभावकबिहिन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मुल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका ३ नं. प्रदेश इन्चार्ज सुमन बर्तौलाले यो बिवरण प्रस्तुत गर्नुभएको हो । यसरी उद्धार गरिएकामध्ये १२९ जना पुरुष, १४ जना महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको विवरणमा उल्लेख छ । त्यस्तै उद्धार गरिएकामध्ये वास्तवमै सहयोग गर्नु पर्ने भनेर पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

अभियान शुरु भएको दिन मंसिर २९ गते ७ जना महिला, ३४ जना पुरुष र १ जना बालक गरी ४२ जनाको उद्धार भएको थियो भने मंसिर ३० गते १० जना महिला, ४५ जना पुरुष १ बालक र १ बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो । पुष १ गते ११ जना महिला, ३७ जना पुरुष र १ जना बालक गरी ४९ जना र पुष २ गते ३ जना महिला, ६४ जना पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौंका बिभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।

अहिलेसम्म गरिएका कामको प्रगति सुनिसकेपछि महानगरका प्रमुख एवं मुल व्यवस्थापन समितिका संयोजक बिद्यासुन्दर शाक्यले — व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार गरिएका हरेक व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्विर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिनुभयो । व्यक्तिको पुनस्र्थापना गराउने सन्दर्भमा बिभिन्न खालका कानुनी, सामाजिक र अधिकार सम्बन्धि सवाल आउन सक्छन् । यी सबै सवाल सुन्ने, मनन गर्ने, अबलम्बन गर्नु पर्ने भए अबलम्बन गर्ने गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने मेयर शाक्यको भनाइ थियो । श्रममा आबद्ध व्यक्तिहरु राती अबेरसम्म काम गरिरहेका हुन्छन् । बिहान चाँडै भारी बोक्ने काममा लाग्नु पर्ने भएकोले राती एकदुई घण्टाका लागि सडकमै बस्छन् । तिनीहरुलाई सामुहिक भाडाका घरमा बस्ने व्यवस्था मिलाउनु पर्छ, उहाँले भन्नुभयो — एउटै कोठामा धेरै मानिस बस्न मिल्ने गरी बनाइएका घर पनि भेटिन्छन् । भाडा तुलनात्मक रुपमा महङ्गो पर्न सक्छ, तर धेरै मानिस बस्दा उनीहरुका लागि सस्तै हुन्छ । श्रममा आवद्धहरुलाई यतातिर प्रोत्साहित गर्नुपर्छ, मेयर शाक्यले समाधानको बाटो देखाउनुभयो ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले — सडकबाट मानिसलाई उठाउँदा आइपर्ने सम्भावित प्रक्रियागत तथा व्यवहारिक जटिलतालाई सहज बनाउन कार्यबिधि बनाएर अघि बढ्न सुझाव दिनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अगुवाईमा कार्यबिधि तयार पार्न सकियो भने यसले अन्य नगरलाई पनि बाटो देखाउँछ, प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो ।

सडकबाट उद्धार गरिएका व्यक्तिहरुमध्ये कालीमाटीमा क्षेत्रमा भेट्टाइएका मानिसहरु बिहान ३ बजेदेखि तरकारीको भारी बोक्न राती बजारकै आसपास सडक किनारामा पातालो कपडा र बोराको सहयोगमा रात बिताइरहेका थिए । उद्धारको अनुभव सुनाउँदै सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले भन्नुभयो — उनीहरुमध्ये अधिकांशले मादक पदार्थ सेवन गरेका थिए । उनीहरु कोठा भाडामा लिएर बस्न सक्ने हैसियतका छन् तर, बस्दैनन् । यसको जोखिमका बारेमा परामर्श गरेर उनीहरुलाई स्क्रिनिङ् सेन्टरबाट फिर्ता गरिएको उहाँको भनाइ छ । सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई बालाजु बाइसधारास्थित स्क्रिनिङ् सेन्टरमा लैजाने गरिएको छ । त्यहाँको व्यवस्थापनमा चनाखो हुनुपर्छ, बैठकमा वडा १६ का अध्यक्ष मुकुन्द रिजालले — यस क्षेत्रमा स्क्रिनिङ् सेन्टर बनाइएकोमा स्थानीयको चासो छ । उहाँहरु कतै त्यो ठाउँ सहयोगापेक्षी मानिस थुपार्ने ठाउँ त हुने होइन भनेर चिन्तित हुनुहुन्छ । उहाँहरुको भावनालाई हामीले सम्बोधन गर्नुपर्छ, वडाध्यक्षको भनाइ थियो । मुल व्यवस्थापन समितिले आउँदो ३ महिनाभित्र स्क्रिनिङ् सेन्टरको काम सकिने योजना बनाएको छ ।

उद्धार गरिएकामध्ये केही त कोठामा श्रीमति र छोराछोरीलाई छोडेर सडकमा आएका पनि थिए । यसरी सडकमा आउनेलाई उद्धारसँगै कानुनी कारवाहीको प्रक्रिया पनि अघि बढाउनुपर्छ, बैठकमा महानगरीय प्रहरी आयृक्तको कायाएलय रानीपोखरीका बरिष्ट प्रहरी उपरीक्षक श्याम ज्ञवालीले सुझाव दिनुभयो । सडकमा आश्रितलाई उठाउनु महानगरको दायित्वभित्र पर्छ । कानुनले बेसहाराको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । उद्धार कार्यको कानुनी पक्षमा धारणा राख्दै महानगरका कानुन महाशाखा प्रमुख बसन्त आचार्यले भन्नुभयो — मन्त्रालय तहबाट कार्यबिधि आयो भने यो देशभरि सबैका लागि हुन्छ । महानगरले गर्ने काम भनेको आफ्नै भौगोलिक अवस्थितिभित्र मात्र हो ।

महानगरभित्रका सडकमा धेरै खालमा माग्नेहरु छन् । अहिले चिसोको मौसम । राती चिसोका कारण कसैले पनि कष्टकर जीवन निर्वाह गर्न नपरोस् भनेर राती सडकमा सुत्ने अवस्थाका मानिसलाई उद्धार गरिएको हो । बैठकमा सहरी शुशासन बिभागका प्रमुख एवं मुल व्इवस्थापन समितिका सदस्य सचिव हरिबहादुर कुँवरले — यसपछि क्रमशः दिनमा माग्ने र माग्ने कामलाई पेशा बनाउनेहरुलाई उद्धार गरिने बताउनुभयो ।

दृष्टिबिहिनहरु जो, सडकका किनारामा गीत गाउँदै माग्छन् । केही बिरामी आफैं र केही बिरामीका आफन्त भएको जनाउँदै, दीर्घ रोगको उपचारका लागि सहयोग गरिदिनोस् भनेर सडक किनारामा माग्ने पनि छन् । ठमेल लगायतका ठाउँमा केही महिलाहरु नानी च्यापेर सवारी चालकसँग पैसा माग्छन् । यी महिलासँगै बालबालिका पनि देखिन्छन् । कोही खुट्टा नभएका, कोही दृष्टि नभएका सडकका किनारामा अनेक अनेक थरीका माग्ने छन् । यीमध्ये कतिले माग्ने कामलाई पेशा नै बनाएका छन् । कोही दिनमा सडकमा छन् त कोही रातमा । यी सबैलाई उद्धार गर्ने, सामाजिक मनोपरामर्श गर्ने । उपचारको आवश्यकता भएकालाई उपचार गरेर पारिवारिक पुनर्मिलन गराउने तथा आफन्त हुँदै नभएकोलाई चाहिँ आश्रममा लाने रणनीतिअनुसार अहिले काम भइरहेको हो ।

आजको बैठकमा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्मा, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवार, नेपाल टेलिकमका व्यापार अधिकृत शिवकुमार भट्टरायसहित सरोकारवाला कार्यालयका अधिकारीहरुको सहभागिता थियो ।-चन्द्रमणि भट्टराई

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६