अन्तर्वार्ता/विचार हेडलाईन न्युज

संगठन मिलाउन सकस, मन कसरी मिल्ला !!

बिदुर खड्का,
पार्टी एकताको डेढ वर्षमा धेरैजसो संगठनका आधिसरो एकताको काम सकिएको छ । केन्द्रीय समिति बनेको छ, नौं सदस्यीय सचिवालय बनेको छ, विधानमै नभएको उपाध्यक्ष पनि बनाइएको छ, तर पोलिटव्यूरो बनाइएको छैन । केन्द्रीय सदस्यहरुको कोर्यक्षेत्र तथा क्षेत्राधिकार पनि तोकिएको छैन । केन्द्रका विभागहरु बनेका छन्, संयोजक÷सहसंयोजक पनि तोकिएका छन् तर सदस्यहरु चुनिएका छैनन् । केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका संयोजक र सदस्यहरु अझै तोकिएको छैन । केही जनवर्गीय संगठनका केन्द्रीय समिति बने, तर पत्रकार, विद्यलर्थी, महिला लगायत संगठनमा अहिलेसम्म संयोजक र सहसंयोजक मात्रै तोकिएको छ । प्रायः कुनै पनि वर्गीय संगठनको प्रदेश र स्थानीय संगठन बनेका छैनन् । पार्टीको केन्द्र, प्रदेश र स्थानीय कमिटिहरु प्राय बनेका छन् । तीन नम्बर प्रदेशमा सचिवालय र विभागहरु पनि बने । संयोजक र सहसंयोजक पनि बने । तर भूगोल पार्टीमा निर्वाचन क्षेत्र र स्थानीय कमिटीका इन्चार्ज÷सहइन्चार्ज तोक्न सकिएको छैन । यसरी जिम्मेवारी दिदा कसैलाई दोहोरो÷तेहेरो कार्यकारी जिम्मेवारी थोपरिएको छ भने कसैलाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन । काठमाण्डौं जिल्लामा नौं जना केन्द्रीय सदस्यहरुलाई सहइन्चार्ज तोकिएको छ भने निर्वाचन क्षेत्र र नगरहरुमा कुन कमिटिकोलाई इन्चार्ज तोक्ने भनेर न विधानलाई पछ्याउन सकिएको छ, न त माथिले कुनै निर्णय दिन सकेको छ । जसका कारण पार्टीका दैनिक गतिविधि र उप–निर्वाचनलाई समेत प्रभावित पार्ने देखिन्छ ।
यो भयो पार्टी एकताभित्र भैरहेका कामहरुको शब्दचित्र । सांगठानिक एकता जेनेतेने भैरहेको छ । तर के यही गतिमा दुईवटा पार्टीका मानिसहरुमा भावनात्मक एकता पनि भइरहेको छ त ? के दुई पार्टीका नेताहरुको मनभित्रैबाट एकता अभिव्यक्त भएको छ त ? के एकले अर्कोलाई, एकले अर्कोको विरासत, संघर्ष, हिजो, सकार, नकार, विचार, विधि यावत कुरालाई मनभित्रैबाट खुल्ला हृदयले बहस गर्दै स्वीकार गरेको छ त ? घटनाक्रम, मनोविज्ञान र त्यसबाट उत्सर्जित बोली–व्यवहारले गम्भीर संसय पैदा भने गरेकै देखिन्छ ।
नेतृत्वको पहिलो रोहमा रहेका नेताहरुलाई बाँकी जिन्दीमा पार्टी र सरकारको उपल्लो स्थानको मोहले पार्टीभित्र हुने विविध निर्णयमा प्रभावित पार्छहोला । निर्णय लिने, त्याग गर्ने र हृदय फराकिलो पारेर हेर्ने कुरामा जिन्दगीको समय अभावका कारणले फुर्सद नमिलेको हुनसक्छ । तर राजनीतिमा लागेका युवापंक्तिलाई उनीहरुले लिने निर्णय, गर्ने व्यवहार र बोलीले धेरै लामो समयसम्म प्रभावित पार्ने हुन्छ । अग्रज नेतृत्वले गर्ने राम्रा वा नराम्रा कामको भागिदार त्यसपछिका नेतृत्व पिंढीले हुनुपर्छ, समय र जनताले भोग्नुपर्ने हुन्छ । त्यस कारण वर्तमानमा जुंगाको लडार्इं लड्दैगर्दा, पदको रक्षाका लागि तर्कका पहाड चुल्याउदै गर्दा, विचारको बहानामा वर्चस्वको दम्भ देखाउदै गर्दा, कुण्ठा र कथित जितको नाममा एकले अर्कोलाई निशेधको पर्खाल ठड्याउदै गर्दा, समान्ती मपाइत्व रक्षाका लागि संघर्षको गर्भिलो इतिहासलाई बलात्कार गरिरहँदा अघिल्लो रोहमा बसेका नेताहरुको यस्ता मनोरोगको सिकार सिंगो देश, युग र पिंढीले चीरकालसम्म सराप्दै भाग्नुपर्ने हुन्छ । उहाँहरुलाई थाहा भएकै कुरा हुन् यी, हेक्का राख्नुपर्छ । वर्चस्वको राजनीतिभित्र हुर्कने यस्ता खराब संंस्कारयुक्त गतिविधिको कुनै विधि, विचार वा वादको रोगनले प्रमाणित गर्न सक्दैन । धोका, मक्कारी, विश्वासघात, छलकपट, लाचारी र अस्थीरता राजनीतिमा दीर्घकालिन राम्रो परिणाम दिने हतियार होइनन्, अन्ततः यिनले राजनीतिक विर्सजनको संघारमा पु¥याउने निश्चत छ । यसको उदाहरण नेपालकै राजनीतिमा पनि धेरै छन् ।
माओवादी केन्द्र र एमाले पार्टी एकताको प्रकृयामा आउनुपूर्व यी दुबै पार्टीका आ–आफ्नै सवल र दुर्वल पक्षहरु थिए । विचार, नीति, विधि, संगठन र नेतृत्व सही हुदैन थियो भने २०५२ सालमा ६५ जनाको सीमित संख्याका मानिसहरुले हतियारबद्ध जनयुद्ध सुरु गरेको माओवादी २०६२ सालमा आइपुग्दा राजतन्त्रबिरोधी आन्दोलनको काँध थाप्ने र २०६४ सालको संविधानसभाको चुनावमा प्रत्यक्ष तर्फ बहुमत प्राप्त गर्ने हैसियत प्राप्त गर्ने थिएन होला । यसैगरी, संगठन, विधि, नेतृत्व र विचारमा प्रतिवद्धता थिएन भने २०६४ सालमा तेस्रो र २०७४ सालको चुनावमा पहिलो पार्टी बन्ने हैसियता प्राप्त हुने थिएन होला एमालेलाई ।
सकारात्मकतासँगै यी दुबै पार्टीमा हुर्किदै गएको नकारात्मकताका कारण जसरी एमाले २०६४ सालको चुनावमा निरिह बन्नुपरेको थियो, त्यसैगरी २०७० सालको चुनावमा त्यही स्थिति माओवादीले पनि भोग्नुप¥यो । सत्ताको मोहमा परेर जनयुद्धको विरुद्धमा राजासँग मिलेर जनतालाई दमन गरेका कारण एमालेलाई जनताले २०६४ सालको चुनावमा तेस्रो स्थानमा पु¥याइदिए । त्यसैगरी २०६४ सालमा बहुमत दिलाएर संविधान बनाउन, सुशासन ल्याउदै जनपक्षीय काम गर्न पठाएको माओवादी भ्रष्टाचार, नातावाद, विलासिता, अस्थिरता र आन्तरिक कलहमा डुबेर आफ्नो कर्तब्यबाट च्यूत भएका कारण जनताले २०७० को चुनावमा तेस्रो बनाइदिएका हुन् । विचार, संगठन र हिरो नेताहरुको जतिसुकै फुँई लगाए पनि त्यो अनुसारको जनताका जीवनसँग प्रत्यक्ष जोडिएका कामहरु ग¥यो कि गरेन भन्ने कुरा हेरेर जनताले आगामि चुनावमा पार्टीहरुको साइज निर्धारण गर्ने अहिलेसम्मको् चुनावले देखाएको सत्य हो । यसर्थ, जसरी २०६४ सालमा ठूलो पार्टी भएकोमा माओवादीले दम्भ गर्नु गलत थियो, त्यसैगरी २०७४ सालको चुनावमा माओवादीसँगको एकताको बलमा बढी सिट जिेतेको पूर्वएमालेले अहिले दम्भ देखाउनु झनै ऐतिहासिक महाभूल हुनेछ । त्यो दम्भ पार्टी एकतामा सघन रुपले हावी भयो । यही दम्भका कारण पार्टीका विभिन्न तहका एकता प्रभावित भइरहेका छन् । राष्ट्रिय संमृद्धि र आर्थिक विकासको महान अविभारा बोकेको पार्टी र सरकार संचालनमा पार्टीभित्र यति गम्भीर व्यवधान पैदा हुनु पक्कै पनि शुभसंकेत होइन ।
चुनाव भनेकै यस्तै हो । एकपटकको परिणामले कसैलाई दीर्घजीवन प्रदान गरेको हुदैन । त्यसलाई कायम राख्न आफ्नो कामलाई, राजनी्तिलाई, आफ्नो इन्द्रीयहरुलाई, सहयोगीहरुलाई, प्रतिपक्षीलाई र प्रतिस्पर्धीलाई ठिक ठाउँमा राखेर ठिक–ठिक व्यवहार गर्नसक्नुपर्छ । जसमा अहिले नेकपा र नेकपा नेतृत्वको सरकारका मान्छेहरुको चालचलनले झस्काएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली किड्नी सम्वन्धी विरामी हुनुहुन्छ । अहिले पनि उहाँ अस्पतालमा किड्नीको डायलासिस गराइरहनु भएको छ । पार्टीका सबै नेता–कार्यकर्ता र सबै देशवासी जनता उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अध्यक्ष प्रचण्ड उहाँको स्वास्थ्यलाई लिएर सबैभन्दा बढी गम्भीर देखिनुहुन्छ । किनकी पार्टी एकताको प्रमुख शुत्रधार उहाँहरु दुईजना नै हुनुहुन्छ । जति धेरै समस्या आइपरे पनि जसरी पनि त्यसको हल निकाल्नै पर्ने उहाँहरुको दायित्वभित्र पर्छ । त्यो भूमिका उहाँहरुले अहिले निर्वाह पनि गरिरहनु भएको छ । पार्टीलाई उहाँहरुको यही भूमिका अझै केही वर्षको लागि आवश्यक छ । यसैका लागि सहमतिमा दुबैपक्षका कार्यकर्तालाई भावनात्मक एकताको बल दिन पालोपालो पार्टी र सरकारको नेतृत्वको कुरा गरिएको हुनसक्छ । यी दुई नेताबीचमा पार्टी, आन्दोलन, देश, विकास र समृद्धिका लागि भएको यो महान पहल कदमी, हिम्मत र त्यागलाई कुनामा बसेर धारेहात लगाउदै फड्के थाप्ने, दाउपेच गर्ने, दुई नेतालाई भिडाउने, उचाल्ने, तपाईले छाडे वा नरम भयो भने त वर्वादै हुन्छ है भन्दै नेतालाई उकास्ने र गलत बोल्न र गर्न लगाउने केही नेताहरुका गतिविधलाई पनि कार्यकर्ताले मात्र होइन, जनताले पनि नियालिरहेका छन् । यसको जवाफ र परिणाम जनताले उचित समयमा देखाइदिने नै छन् जसरी २०६४ र २०७० सालमा देखाइदिएका थिए ।
जसरी केही मानिसहरु प्रचण्डलाई ओलीले बाँचुन्जेल सेकेण्ड बनाउने भए भन्ने चिन्ता देखिन्छ, त्यसैगरी अर्काथरी मानिसहरुमा कुनै पनि हालतमा पूर्वमाओवादी नेतृत्वलाई पार्टी र सरकार कुनैको पनि नेतृत्व दिनु हुदैन भन्ने अठोट रहेको देखिन्छ । यी दुबै मनोरोगले अन्ततः पार्टीलाई कहाँ पु¥याउला त ? यसको जवाफ रवी लामिछाने र ज्ञानेन्द्र शाहीहरुले सडक र माइकबाट दिने निरिह दिन नआउला भन्न सकिन्न ।
पार्टी एकताको आधाउधि काम नसकिदै हिजोकै शैलीमा गुटबन्दी गर्ने, निशेध गर्ने, आरोप–प्रत्यारोप गर्ने, पेल्ने, हेप्ने, मै हुँ भन्ने, अरुलाई भुसुना सरह पनि नगन्ने प्रवृत्ति देखाइरहने हो भने पार्टी एकतापछि पनि पार्टीका दिनहरु सुखद् हुने देखिदैन । यसलाई विचारको कलेवरमा संघर्षको इतिहासमाथि नै प्रहार केन्द्रित गरेपछि त फेरि उही दुधको दुध, पानीको पानी नहोला भन्न सकिन्न । यो जनताको चेतावनी र चिन्ता दुबै हो ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २२, २०७६

ताजा अपडेट