शिक्षा/स्वास्थ्य

विविधताले भरिपूर्ण नेपाल भ्रमण गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, ३१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । कन्सुलेट जनरल अफ नेपाल र नेपाल–अमेरिका फाउण्डेशनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सह–आयोजनामा नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आयोजित ‘नेपालको पर्यटन कला र संस्कृति’ विषयको गोष्ठीलाई न्यूर्योकमा सम्बोधन गर्दै उहाँले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएकोले विश्व समुदायलाई नेपाल भ्रमणका लागि आह्वान गर्नुभएको हो ।

मन्त्री पोखरेलले बुद्धको जन्मभूमि र विश्वको अग्लो समगरमाथा भएको देश नेपालको विश्वमा छुट्टै पहिचान भएको समेत बताउनुभयो । नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले विविधताले भरिपूर्ण सुन्दर देश नेपाल भ्रमण गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । नेपाल प्राकृतिक, सांस्कृतिक रूपमा धनी भएको बताउँदै मन्त्री पोखरेलले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । विश्व समुदायको ध्यान नेपाल तिर आकर्षित गर्न भ्रमण आयोजना गर्न थालिएको भन्दै उहाँले नेपाल सुन्दर, सुरक्षित र महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो ।

नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ अघि बढिरहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन र विकासका लागि सरकारले प्राथमिकता साथ काम गरिरहेको बताउनुभयो । नेपालको विद्यालय पाठ्यक्रममा असल मानवीय मूल्यहरू समेटिएको उल्लेख गर्दै नेपालीहरू अतिथि सत्कारका लागि राम्रो सेवा दिन सक्षम रहेको समेत बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सामाजिक सङ्गठन (युनेस्को) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा भएको दिगो विकास लक्ष्यसम्बन्धी ‘हाई लेभल पोल्टिकल फोरममा’ भाग लिन मन्त्री पोखरेल केही दिनअघि त्यसतर्फ जानु भएको हो । -सापाबाट

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६