सुनकोसी न्यूज
चैत्र १७ गते मंगलबार
काठमाडौं । केही दिनको गिरावटपछि सेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.७० अंकले बढेर २८५१ अंकमा पुग्दै हरियालीमा बन्द भएको हो।
अघिल्ला दुई कारोबार दिनमा ११९ अंकले घटेको बजार आज पुनः उकालो लाग्दा लगानीकर्तामा केही उत्साह देखिएको छ। यद्यपि कारोबारको सुरुआती चरणमा बजार दबाबमा देखिएको थियो। नेप्से परिसूचक दिउँसो १२:०६ बजे २७८९ अंकसम्म झरेको थियो, जुन दिनकै न्यूनतम विन्दु रह्यो। त्यसपछि भने बजारले सुधारको गति समात्यो।
आज कुल ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा केही कम हो। बजारमा १९५ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनी घटेका छन् भने ९ कम्पनी स्थिर रहेका छन्।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्रमा वृद्धि देखिएको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा र व्यापार समूह पनि उकालो लागेका छन्। अन्य समूह भने सामान्य रूपमा घटेको छ।
आज ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको ‘पोजिटिभ सर्किट’ लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनका लगानीकर्ताले उच्च लाभ कमाएका छन्।
यता, सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशतले घटेको छ। रिडी पावर र धौलागिरि लघुवित्त पनि गिरावटमा देखिएका छन्।
कारोबार रकमका आधारमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक अग्रस्थानमा रहेका छन्।

















Add Comment