अर्थ/विजनेस मुख्य समाचार समाचार हेडलाईन न्युज

सरकार बदलियो, बजार ढल्यो—नेप्से ७१ अंकले ओरालो

सुनकोसी न्यूज

चैत  १५ गते आइतबार

काठमाडौं । नयाँ सरकार गठनपछि खुलेको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट आएको छ। आइतबार NEPSE Index ७१ अंकले घटेर २८७९ विन्दुमा झरेको छ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से २९ सयको मनोवैज्ञानिक बिन्दुभन्दा तल झरेको हो। सूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो बिहीबार १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

आजको कारोबारमा ९ कम्पनीको शेयर मूल्य बढ्दा २५६ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो। सबै उपसमूहगत सूचकहरू ओरालो लागेका छन्, जसमा फाइनान्स समूह सबैभन्दा धेरै ३.३८ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स लगायत सबै समूहमा गिरावट देखिएको छ।

यद्यपि, समग्र बजार घटेको दिनमा पनि केही कम्पनीहरूमा उच्च वृद्धि देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै, सीवाईसी नेपाल लघुवित्त र सोलु हाइड्रोपावरको मूल्य पनि बढेको छ।

उता, युनिक नेपाल लघुवित्त, हिमाल दोलखा, अभियान लघुवित्त र माउन्टेन हाइड्रो नेपाललगायत कम्पनीहरूको शेयर मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारका हिसाबले रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे।

किन घट्यो बजार ?
नयाँ सरकार गठनसँगै बजारमा उत्साह थपिने अपेक्षा गरिएको भए पनि वास्तविकता विपरीत देखिएको छ। एक ब्रोकर सञ्चालकका अनुसार पछिल्ला दिनमा भएको धरपकड र आन्दोलनले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पारेको छ।

उनका अनुसार बजार अघिल्लो समयदेखि नै बढ्दो क्रममा रहेकाले धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्ने अवसर खोजिरहेका थिए। नयाँ सरकार गठनसँगै आएको उच्च कारोबारले त्यस्तो बिक्री दबाबलाई सहज बनाएको देखिन्छ।

गत साता मात्रै नेप्से ७३ अंकले बढेको थियो भने एक महिनाअघि २६७३ विन्दुमा रहेको बजार आइतबार खुल्दा २९५० विन्दुसम्म पुगेको थियो। यसैले पनि बजारमा ‘प्रोफिट बुकिङ’ बढ्दा गिरावट आएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०८२

 

 

ताजा अपडेट