सुनकोसी न्यूज
चैत ६ गते, शुक्रबार
नयाँ सरकार बनेपछि मात्रै निर्णय गर्ने तयारी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न गरिएको सिफारिस राष्ट्रपति कार्यालयमा रोकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिस तत्कालका लागि ‘होल्ड’मा राखेका हुन्।
चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णय चैत ३ गते राष्ट्रपति कार्यालयमा पुगे पनि अहिलेसम्म अनुमोदन भएको छैन।
राष्ट्रपति निकट स्रोतका अनुसार हालको राजनीतिक अवस्था र सरकार परिवर्तनको सम्भावनालाई मध्यनजर गर्दै निर्णय रोकिएको हो। नयाँ सरकार गठन भएपछि सम्बन्धित पक्षको धारणा बुझेर मात्र नियुक्तिबारे निर्णय गर्ने तयारी रहेको जनाइएको छ।
‘अन्तरिम अवस्थाका गृहमन्त्रीलाई राष्ट्रिय सभामा पठाउने विषय संवेदनशील भएकाले तत्काल निर्णय नगरी होल्ड गरिएको हो,’ स्रोतले जनाएको छ।
यसअघि गृहमन्त्रीकै हैसियतमा अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएको भन्दै प्रधानमन्त्री सुशीला कार्की को कदममाथि आलोचना भएको थियो। सो सिफारिसविरुद्ध सर्वोच्च अदालत मा रिटसमेत दायर भइसकेको छ।
राजनीतिक वृत्तमा भने नयाँ सरकार गठनसँगै यो विषयले थप मोड लिने अपेक्षा गरिएको छ।

















Add Comment