काठमाण्डौ। यही मंसिर १६मा हुने स्थानीय निकायको उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिकाको लागि माओवादी केन्द्रबाट उमेद्वार छन् जंगबहादुर बराल मगर । माओवादी केन्द्रको स्थिति कस्तो छ ? जनता के खोजिरहेका छन् ? हामीले माओवादी केन्द्रका उमेद्वार बरालसित संक्षिप्त कुराकानी गरेका छौं- सम्पादक ।
घरदैलो अभियान कस्तो चल्दै छ, के भन्दैछन् जनता ?
अहिलेसम्म चार वटा वडामा घरदैलो कार्यक्रम सकियो । विशेषगरी पालिकाको नेतृत्वमा पुगेका कांग्रेस र एमालेले खासै काम गर्न सकेनन्, उनीहरू जितेर गाउँ फर्किएनन्, चुनावको बेलामात्रै आउँछन् भनिरहेका छन् जनता । मैले भनेको छु, ‘हिजो हामी जनयुद्धमा थियौँ । इमानदारीका साथ हामीले देशमा राजनीतिक परिवर्तन गरेका छौँ । अब हामी जनताको अवस्था बदल्नका लागि लागिरहेका छौँ, त्यो पनि सुशासनसहितको विकास ।’ हामीले आशाको बिउ रोप्ने काम गरिरहेका छौँ ।
रास्वपासहित कांग्रेस, एमालेबाट बलिया उम्मेदवार छन्, तपाईंको प्रतिस्पर्धी कुन् ?
युवा साथीहरू आइरहनु भएको छ । तर राजनीतिक रूपमा उहाँहरू युवा हैन । सुशासनको यात्रामा माओवादी भन्दा अरु दल पछि छन् । एमाले र कांग्रेसका साथीहरूको काम देखिसकिएको अवस्था छ, त्यसैले जनता हाम्रो पक्षमा छन् । कुशासनका विरुद्धमा माओवादीले एक्लै प्रतिस्पर्धा गरिरहेको छ ।
उसो भए तपाईं चुनाव जित्नुहुन्छ ?
चुनाव जितिसकेको अवस्था छ । जनताले पनि यो विजय हो भनेर भनिरहेका छन् ।
तपाईँले चुनाव जित्ने आधारचाहिँ के के हुन् ?
कांग्रेस–एमालेबाट जनताको मुक्ति सम्भव छैन । पार्टी पुरानै भए पनि माओवादीले निकास दिनसक्छ भनेर हामीप्रति जनताको विश्वास छ ।
अलि प्रष्टसित भन्नोस् त, यो उपनिर्वाचनमा तपाईं कति मत ल्याउनुहुन्छ ?
धेरै मान्छे विदेशमा छन्, खस्ने मत ७ हजारजति हो । त्यसैले २४ सय मत ल्याएर हामी चुनाव जित्छौं ।
Add Comment