समाचार हेडलाईन न्युज

उपत्यकामा निषेधाज्ञा दुई साता थपियाे, अवस्था थप जटिल बन्दै

 सुनकाेशी न्युज,  २०७८ बैशाख २९ बुधबार

काठमाडौं । कोरोना संक्रमण झन्झन् बढ्दै गएपछि सरकारले उपत्यकामा थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । मंगलबार तीनै जिल्लाका प्रशासन कार्यालयले १३ जेठसम्मका लागि निषेधाज्ञा थपेका छन् ।

देशभर देखिएका कुल संक्रमितमध्ये ४६.२१ प्रतिशत उपत्यकाका बासिन्दा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म देशभर चार लाख १३ हजार एक सय ११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये एक लाख ९० हजार नौ सय ३६ जना उपत्यकावासी छन् ।

उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसका बाबजुद संक्रमण दर घट्न सकेको छैन । निषेधाज्ञा सुरु भएयताको १३ दिनमा काठमाडौैं उपत्यकामा ४४ हजार आठ सय ९९ जनामा संक्रमण देखिएको छ । पछिल्लो एक सातायता त दैनिक करिब चार हजारका दरले संक्रमित देखिँदै छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १५ वैशाखमा काठमाडौंमा एक हजार चार सय ६४, ललितपुरमा तीन सय ५१ र भक्तपुरमा दुई सय ३२ जनामा गरी उपत्यकामा दुई हजार ४७ जनामा संक्रमण देखिएको थियो । १६ वैशाखमा त्यो संख्या घटेर एक हजार पाँच सय १६ जनामा संक्रमण देखियो । १७ वैशाखमा झन्डै दोब्बरले बढेर दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको थियो ।

निषेधाज्ञाको ११औँ दिन २६ वैशाखमा सर्वाधिक चार हजार एक सय ९८ जनामा संक्रमण देखिएको थियो । त्यसयताका दुई दिन संक्रमितको संख्या चार हजारबाट थोरै घटेको छ । सोमबार तीन हजार ६ सय सात र मंगलबार तीन हजार नौ सय २७ जनामा संक्रमण देखिएको छ ।

निषेधाज्ञापछि संक्रमण नघटे पनि वृद्धिदर नियन्त्रण भएको स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ । तर, जीवाणुविज्ञ डा. सन्तोष दुलालले अझै दुई साता संक्रमणले विध्वंस मच्चाउने भएकाले स्वास्थ्य संकटकाल लगाउनुपर्ने बताए । ‘लकडाउन लगाएको अवस्थामा पनि संक्रमणको ‘चेन ब्रेक’ हुन करिब तीनदेखि चार साता लाग्छ । चार सातामा पुगेपछि केही समय स्थिर हुन्छ र घट्न थाल्छ । त्यसकारण अबका दुई साता नेपालमा कोरोनाले विध्वंस मच्चाउने देखिन्छ । स्वास्थ्य संकटकाल लगाउनुको विकल्प छैन,’ उनले भने ।

निषेधाज्ञा थपसँगै केही प्रावधान हेरफेर गरिएको छ । बिहान १० बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो । भिडभाड बढेपछि समय लम्ब्याइएको हो । त्यस्तै, राष्ट्रिय गौरवका आयोजनाबाहेकको अन्य निर्माणसम्बन्धी काम रोक्ने निर्णय पनि भएको छ ।

 

प्रकाशित मिति: बुधबार, बैशाख २९, २०७८