उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ।
गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो। अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको पाइएको छ।
सार्वजनिक तथा गुठीका जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालिएको गाउँपालिकाले जनाएको छ।
वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भीष्म मल्लको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष पदेन सदस्य हुने र सदस्य सचिव सामाजिक विकास अधिकृत लिलाधर सुवेदी रहने गरी समिति गठन गरेर जग्गाको खोजीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।
समितिले पहिलो चरणमा गाउँपालिकाको वडा नं ३, ४, ७, र ८ गरी जम्मा ४ वटा वडाको वेनी मालढुङ्गा सडकखण्ड आसपास सार्वजनिक जग्गाको पहिचान गर्ने कार्य सम्पन्न गरिसकेको छ।
यी वडामा सरकारी जग्गाका ३८८ वटा कित्ता रहेको र क्षेत्रफल १५ हजार २८२ रोपनी रहेको तथा उक्त जग्गा हालसम्म ब्यक्तिले आवासको लागि पक्की घर निर्माण गर्नुको साथै खेतीबाली लगाई उपयोग गर्दै आएको भेटिएको संयोजक भीष्म मल्लले जानकारी दिए।
Add Comment