सुनकोशी न्यूज
जेष्ठ २० गते, बुधबार
बुटवल – लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका चार मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा स्वास्थ्य मन्त्री खेम सारुमगर रहेका छन्।
मुख्यमन्त्री आचार्यले आफ्नै सल्लाह र निर्देशनमा मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिएका छन्। सत्ता साझेदारी र सरकारको नेतृत्व परिवर्तनबारे नेपाली कांग्रेससँग निरन्तर छलफल चलिरहेका बेला एमालेले सरकारमा आफ्नो टोली पुनर्गठन गर्ने निर्णय गरेको हो।
एमालेले नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरेको छ। खत्री यसअघि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने अन्य तीन जना सम्भावित नयाँ अनुहारका रूपमा अघि आएका छन्।
पार्टीले दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको जनाएको छ। सोही आधारमा घिमिरे र चौधरीको नाम सिफारिस गरिएको बताइएको छ। प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले भुसाललाई पनि मन्त्रीका लागि अगाडि सारिएको हो।
यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो।
उता, कांग्रेसले सरकारको नेतृत्व हस्तान्तरणका लागि दबाब बढाइरहेका बेला मुख्यमन्त्री आचार्यले आगामी असार १ गते बजेट प्रस्तुत गरेपछि मात्रै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउने अडान कायम राखेका छन्। कांग्रेसबाट भावी मुख्यमन्त्री को बन्ने भन्ने विषय भने अझै टुंगो लाग्न सकेको छैन।

















Add Comment