सुनकोसी न्यूज
वैशाख ३० गते बिहीबार
तेह्रथुम, ३० वैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको बढ्दो आतंक नियन्त्रण गर्न जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बाँदरलाई नगरपालिका सीमाभन्दा बाहिर धपाउन ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने भएकाले सार्वजनिक बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको हो।
नगरप्रमुख अर्जुन माबोहाङद्वारा जारी सूचनामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने उल्लेख गरिएको छ। नगरपालिकाका अनुसार बाँदरका कारण कृषकहरू सबैभन्दा बढी मारमा परेका छन्। खेतबारी जोगाउन दिनरात निगरानी गर्नुपर्ने अवस्थाले कतिपय बालबालिका विद्यालय जानसमेत नपाएको जनाइएको छ।
बढ्दो समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रम सञ्चालन गरिरहेको छ। वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचना निर्माण गरी बाँदर हेरालु समेत परिचालन गरिएको छ।
नगरप्रमुख माबोहाङले बाँदर समस्या सामान्य देखिए पनि यसले कृषिमा गम्भीर असर पुर्याएको बताए। उनका अनुसार राष्ट्रिय स्तरमै दीर्घकालीन समाधान आवश्यक भए पनि तत्कालका लागि स्थानीय तहले आफ्नै स्रोतसाधन प्रयोग गरेर किसानलाई राहत दिने प्रयास थालेको हो।
यसैबीच, लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष तथा प्रवक्ता देवेन्द्र खड्काले जेठ १ र २ गते ‘बाँदर लखेटी नगरपालिका सिमाना कटाउने’ विशेष अभियान सञ्चालन गरिने जानकारी दिए। अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
स्थानीय किसान महेन्द्र कुरुम्बाङले बाँदर समस्या खेती नष्ट हुने विषयमा मात्र सीमित नरहेको बताए। उनका अनुसार बाली जोगाउने कि बालबालिकाको पढाइ हेर्ने भन्ने समस्यामा किसानहरू पर्न थालेका छन्। उनले नगरपालिकाको सामूहिक अभियानलाई तत्कालीन राहतको प्रयास भन्दै दीर्घकालीन समाधानका लागि राज्यस्तरको स्पष्ट नीति आवश्यक रहेको बताए।











Add Comment