सुनकोसी न्यूज
चैत १० गते मंगलबार
काठमाडौं । पश्चिम एसियामा चुलिँदो भू–राजनीतिक तनावका कारण एलपी ग्यास आपूर्तिमा अनिश्चितता बढ्दै जाँदा नेपाली उपभोक्ता विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्। ग्यास अभावको सम्भावित जोखिमले इन्डक्सन चुलोको माग उल्लेख्य रूपमा बढाएको हो।
बजारमा ग्यासको अभाव देखिन थालेपछि धेरै उपभोक्ताले विकल्पका रूपमा इन्डक्सन प्रयोग गर्न थालेका छन्। यसले विद्युतीय चुलोको बिक्री र आयात दुवै बढाएको व्यवसायीहरू बताउँछन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा ३० करोड ४१ लाख रुपैयाँ बराबरका १ लाख ४७ हजार ८६४ थान विद्युतीय चुलो नेपाल भित्रिएका छन्। तीमध्ये अधिकांश इन्डक्सन चुलो रहेका छन्।
पछिल्ला दिनमा बजारमा इन्डक्सन चुलोको बिक्री उल्लेख्य रूपमा बढेको छ। पहिले दैनिक १–२ वटा बिक्री हुनेमा अहिले १० वटासम्म बिक्री हुन थालेको व्यवसायीहरूको भनाइ छ।
ग्यास आपूर्ति प्रभावित हुने त्रासका कारण उपभोक्ता सुरक्षित विकल्प खोज्दै विद्युतीय भान्सातर्फ मोडिएका हुन्। नेपालजस्तो आयातमा निर्भर देशमा अन्तर्राष्ट्रिय तनावले इन्धन आपूर्तिमा प्रत्यक्ष असर पार्ने भएकाले यसको प्रभाव स्थानीय बजारमा देखिन थालेको छ।
विद्युतीय चुलोको प्रयोग बढ्नु सकारात्मक मानिए पनि उपभोक्ताहरूले भरपर्दो विद्युत आपूर्ति आवश्यक रहेको बताएका छन्। नियमित बिजुली र स्थिर भोल्टेज नभए वैकल्पिक ऊर्जा प्रयोगमा समेत समस्या आउने उनीहरूको भनाइ छ।
यसरी ग्यास सङ्कटको संकेतसँगै नेपाली भान्सा क्रमशः विद्युतीयतर्फ रूपान्तरण हुँदै गएको देखिन्छ।

















Add Comment