सुनकोसी न्यूज
चैत १० गते मंगलबार
काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएको छ। इरानमाथि भएको आक्रमणको पूर्ण क्षतिपूर्ति नभएसम्म युद्ध जारी रहने अडान उसले दोहोर्याएको हो।
इरानका वरिष्ठ सैन्य अधिकारी मोहसेन रजाई ले एक टेलिभिजन अन्तर्वार्तामा अमेरिका–इजरायलको आक्रमणको क्षतिपूर्ति र आर्थिक प्रतिबन्ध हटाइएपछि मात्र युद्ध रोकिने बताएका छन्। उनले भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी पनि माग गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गर्ने घोषणा गरेका थिए। सोही घोषणापछि इरानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
इरानले आफ्नो सैन्य शक्ति पूर्ण क्षमतामा परिचालन गरिएको दाबी गर्दै नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी को नेतृत्वमा देश सुदृढ रूपमा अघि बढिरहेको जनाएको छ।
‘इजरायलका कारण युद्ध लम्बियो’
रजाईका अनुसार यो युद्ध छोटो समयमै अन्त्य हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो। उनले दाबी गरे अनुसार अमेरिका युद्धविरामतर्फ उन्मुख भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले आक्रमण जारी राख्न दबाब दिएपछि द्वन्द्व थप चर्किएको हो।
उनका अनुसार युद्धको १५औं दिनपछि अमेरिकाले समेत जितको सम्भावना न्यून रहेको निष्कर्ष निकालिसकेको थियो।
ट्रम्पको प्रतिक्रिया
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानमा सम्भावित राजनीतिक परिवर्तनका विकल्पहरूमा अमेरिका काम गरिरहेको बताएका छन्। उनले भेनेजुएलामा जस्तै नयाँ नेतृत्व ल्याउने वा संयुक्त नेतृत्व (ज्वाइन्ट लिडरशिप) मोडेल अपनाउने सम्भावनाबारे छलफल भइरहेको बताएका छन्।
ट्रम्पले इरान वार्ताका लागि इच्छुक रहेको र चाँडै सम्झौता हुन सक्ने संकेत समेत दिएका छन्। यद्यपि, इरानले सत्ता परिवर्तनसम्बन्धी अमेरिकी दाबीलाई अस्वीकार गरिसकेको छ।

















Add Comment