समाचार

अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पहिलो बैठकले गर्यो यस्ता निर्णयहरु

सुनकोशी न्युज,
२०७६ भाद्र ९ सोमबार
काठमाण्डौं, पार्टी एकीकरणको १५ महिनापछि नेकपाको सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्यो । तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता भएयता पहिलो पटक अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसेको हो । यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थिए ।
सचिवालय बैठक बस्नुपूर्व र अध्यक्ष ओली सिंङ्गापुर प्रस्थान गर्नु अघिनै नेताहरुबीच कार्यविभाजनका बाँकी काममा मोटामोटी सहमति भएको थियो । प्रचण्डले भदौ १ गतेको बैठकका केही निर्णयबाट असन्तुष्ट बनेका बरिष्ठ नेता माधवकुमार नेपालसँग समेत सहमति गरेर निर्णय गरेका छन् ।
सचिवालय बैठक बस्नुपूर्व सचिवालयका सबै, स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरुसँग प्रचण्डले छलफल गरेका थिए । सोहीअनुसार आजको बैठकले केही विभागका उपप्रमुख, जिल्ला र जनवर्गिय संगठनका सहइन्चार्ज थप गरेको छ । यसबाहेक जिम्मेवारी हेरफेर समेत गरेको छ । बैठकले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखको जिम्मेवारी दिएको छ । यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिइएको हो ।
प्रादेशिक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ । विदेश विभागको उपप्रमुखको जिम्मेवारी विष्णु रिजाललाई दिईएको छ । यस्तै सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखको जिम्मेवारी कमल चौलागाईलाई दिएको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिइएको थियो । नीति अध्ययन प्रतिष्ठानको सहसंयोजक पूर्व राजदूत प्रमेश हमाललाई बनाइएको छ । यसअघि सहसंयोजकको जिम्मेवारी रमेश धमलालाई दिइएको छ ।
त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा वीरमान चौधरीलाई बनाएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो ।
यस्तै अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदिवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ । नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा तिलक परियार र बोमबहादुर विश्वकर्मालाई, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।
ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणि जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि बस्ने गरेका सचिवालय बैठकमा बहस, विवाद हुने गरेपनि आजको बैठकमा भने कुनै बहस र विवाद नभएको एक नेताले बताएका छन् । ती नेताका अनुसार आजको बैठक विगतका भन्दा फरक अनुभव गरेको बताए । यसरी प्रचण्डले आफ्नो अध्यक्षतामा बसेको पहिलो बैठक मार्फत सवै नेताको पूर्ण सहमतिमा निर्णय गरेर अर्को सन्देश दिएका छन् ।
अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका नवप्रवेशी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई उचित सम्मान हुन्छ है भन्ने सन्देश दिन खोजेको देखिन्छ । नेपामा प्रवेश गरेको लामो समय बितिसक्दा पनि उचित जिम्मेवारी नपाएका नेता कल्पना धमला, देवेन्द्र पराजुली, पदम राई र किरण राईलाई आजको सचिवालय बैठकले विधानको प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनित गरेको छ ।
पार्टी विधानमा १० प्रतिशत केन्द्रीय सदस्य थप गर्ने व्यवस्था थियो । योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ । केन्द्रीय कमिटीमा मनोनय हुने चार नेता विगतमा लामो समय प्रचण्ड नेतृत्वको माओवादीमा थिए । तर, पछि विभिन्न समयमा माओवादी त्यागेर अन्य पार्टीमा गएका थिए । प्रचण्डसँगको सल्लाहमा नै उनीहरु नेकपा प्रवेश गरेका थिए । यसरी अन्य पार्टीबाट पार्टी प्रवेश गरी आउने नेताहरुलाई उनीहरुको विगतको भूमिकाका आधारमा नेकपामा पनि अवसर छ है भन्ने सन्देश आजको बैठकले दिन खोजेको ति नेताले बताए ।

         

प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६