समाचार हेडलाईन न्युज

गैरसांसद रबिले पुनः गृहमन्त्री नपाउँदा गरे आफ्ना तीनैजना मन्त्री फिर्ता, मिडियासँग आक्राेशित

सुनकोसी न्युज
माघ २२ गते आइतबार, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरूले राजीनामा बुझाएका छन् । उनीहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाउनुभएको हाे।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा बसेकाे बैठकले आफ्नोतर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गरेको हाे। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम रहने जनाएको छ।
रास्वपाका अध्यक्ष रबि लामिछानेकाे नागरिकता र पासपोर्ट काण्डमा निर्वाचित सांसद र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेपछि बिबादमा आएको रास्वपाले आफ्ना अध्यक्ष लामिछानेले सांसद नभए पनि गृहमन्त्री पाउनुपर्ने ढिपि लिएको थियो । एमाले अध्यक्ष केपी ओलीले समेत रबिकाे पद दिलाउन प्रधानमन्त्री प्रचण्ड समक्ष दबाब दिएका थिए । तर सामाजिक संजाल, मिडिया र जनतामा रबिकाे सत्ता लिप्साकाे चर्को आलोचना भएपछि रबिले आफ्नो पार्टीलाई सरकारबाट बाहिर निकालेका छन् । यससँगै उनलेे अरु तीनजना मन्त्रीलाई समेत आफ्नो गल्तिमा बलि चढाएको चर्चा हुन थालेको छ। जाँदाजाँदै उनलेे कान्तिपुर, अनलाइन खबर, सेताेपाटी, अन्नपूर्ण, नयाँ पत्रिका लगायत मिडियाका संचालकमाथि विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आराेप लगाउदै हिम्मत भए आफूसँग चुनावमा प्रतिस्पर्धा गरेर जित्न चुनाैति दिएका छन् । आइतबार साँघ आयोजना गरिएको पत्रकार सम्मेलनमा उनलेे आफू बिरुद्ध समाचार लेख्ने मिडिया संचालक बिरुद्ध आक्राेश व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतवार, माघ २२, २०७९