गण्डकी समाचार हेडलाईन न्युज

सिट बाँडफाँटको समस्या गठबन्धनभित्र छैन : प्रचण्ड

सुनकोसी न्युज
भदौ, २४ गते शुक्रबार, २०७९
पाेखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आज उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको बताए । उनले दलहरु समझदारी र सहमतिको नजिक पुगेको समेत  स्पष्ट पारेका छन् ।

नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हामी हिजो नै टुङ्गोमा पुगिसक्ने थियौँ । कतिपय बेला म उद्योग परिसङ्घको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रित भएर लाग्न पाएनौँ । आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टङ्गोमा पुग्नेछौँ, प्रचण्डले भने ।

प्रचण्डले विभिन्न जिल्लाबाट आफूलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्नका लागि आग्रह गरेको भएपनि  चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने भएकाले चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् ।

चितवन छाड्दा सन्देश राम्रो हुँदैन, जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो । अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि,उनले भने ।

प्रचण्डले नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भएर गइसकेपछि राष्ट्रपतिले  पारित गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौं यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ । राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण नगर्ने हो भने दुईवटा सम्भावना छ । पहिलो, यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ,प्रचण्डले भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९