समाचार हेडलाईन न्युज

यो सरकारलाई राष्ट्रिय सरकार बनाउँ : गजुरेल

सुनकाेशी न्युज
२०७८ असार ८ गते शुक्रबार
काठमाडौं । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सांसद हरिवाेल प्रसाद गजुरेलले संसदकाे अधिवेशनमा बाेल्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ।

२०७२ सालमा परिवर्तनको भावअनुसार नयाँ संविधान बनेपछि सरकार र सदन नयाँ ढंगले चल्नुपर्छ भन्ने मान्यता राख्ने गजुरेलले २०७४ सालमा निर्वाचित भएयता संसदमा बाेल्नुभएकाे थएन। यो संसदमा उहाँले बाेल्नुभएकाे यो पहिलोपटक हाे।

ओली नेतृत्वको सरकारको अकर्मण्यताका कारण सदन र सरकार पुरानै तरिकाले चलेको र त्यसले परिवर्तन र संविधानकाे मर्मलाई लत्याएकाेले बाेल्नुकाे आैचित्य नहुने भएकोले नबाेलेकाे उहाँको भनाइ थियोे । ओलीकै कारण बामपंथी एकतामा समस्या आएको र पार्टी बिभाजन भएको उहाँको तर्क छ। ओलीले भ्रष्टाचार सहन्न भन्दै भ्रष्टाचारीलाई संरक्षण गरेको बताउनुभयो ।

निर्वाचित भएको साडे तीन वर्षपछि गठबन्धनका प्रधानमन्त्री देउवालाई बधाई दिदै उहाँले ओलीको तानाशाही र सर्वसत्तावादी निरंकुश जनबिराेधि चरित्र र कार्यशैलीका कारण पार्टी बिभाजन भएको र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनुभयो ।

माओवादी र सात दलसँग मिलेर जसरी राजतन्त्र फालेर गणतन्त्रको स्थापना गरे, त्यसैगरी पाँच दलको गठबन्धनले ओलीको प्रतिगमनकारी सर्वस्तावादकाे अन्त्य गरेको बताउनुभयो । देउवाको बिगत त्यति सङ्लाे नभएकाले अब भ्रष्टाचारको अन्त्य गरेर राष्ट्रिय समृद्धिकाे राेडम्यापमा काम गरेर सच्चिने अवसर आएको सम्झाउनु भयाे।

काेभिड-१९ का कारण थिलथिलाे भएको जनजीवन सामान्य बनाउन र जरजर भएको कृषि, उद्योग, व्यापार र शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन यो सरकारलाई राष्ट्रिय सरकारकाे स्वरुप दिई सबैलाई समेटेर काम गर्नुपर्ने उहाँको तर्क छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८