खेल हेडलाईन न्युज

त्रिदेशीय कप फुटबलमा नेपाल र किर्गिस्तानले समान अंक बाँडे

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
काठमाडौं । दशरथ रंगशालाको घरेलु मैदानमा लामो समयपछि नेपालले अन्तराष्ट्रियस्तरको फुटबल खेलेको छ । विहिबार किर्गिस्तान र नेपालबीच भएको खेलमा कसैले पनि गोल गर्न नसकेपछि बराबरी अंक बाढिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू–२३) टिमसँग खेलेको थियो ।

त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक टिम खेल्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा करिब ७ हजारको संख्यामा दर्शक उपस्थित थिए ।

नेपाली खेलाडीले खेलमा आधा दर्जन भन्दा बढी अवसर पाए पनि गोल गर्न भने सकेन । आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानको युवा टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

यो नतिजाले प्रतियोगिताको अर्को टिम बंगलादेश भने फाइनलमा पुगेको छ । शनिबार हुने नेपाल र बंगलादेशको खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

नेपालले बंगलादेशसँग बराबरी खेले मात्र पनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न भने शनिबार हुने खेलको नतिजा किर्गिस्तानकै अनुकूल आउन पर्छ ।

दशरथ रंगशालमा नेपालको सिनियर फुटबल टिमले सन् २०१५ पछि पहिलो पटक खेलेको हो । गत वर्ष मंसिरमा भएको १३औं सागमा नेपालको यू(२३ टिमले फुटबलमा स्वर्ण जिते पनि त्यो सिनियर स्तरको थिएन । त्यसैले ६ वर्षपछि दशरथ रंगशालामा सिनियर टिमको यो पहिलो खेल रह्यो ।

यसै प्रतियोगितामार्फत राष्ट्रिय टिममा पहिलो पटक परेका तीन खेलाडी सन्जोग राई, त्रिदेव गुरुङ र निशान खड्काले सिनियर टिममा पहिलो पटक खेले । मिडफिल्डद्वय सन्जोग र त्रिदेवले पहिलो रोजाइमा खेले भने निशानले अन्तिम चार मिनेट अवसर पाए ।

बराबरीपछि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अहिले उपलब्ध भएको मध्ये बेस्ट टिम खेलाएको तर फरवार्ड स्कोरिङमा चुक्दा नेपालले स्कोर गर्न नसकेको बताए । उनले अट्याकिङ थर्डमा देखिएको समस्या अर्को खेलमा सुधार गर्दै राम्रो गर्ने बताए ।

महर्जनले बंगलादेश विरुद्धको अर्को खेलमा अंक जोड्दै फाइनल पुग्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७