समाचार हेडलाईन न्युज

नेपालको नक्सा समर्थन गर्दा मनिषामाथि जाइलागे भारतीय मिडिया

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
काठमाण्डौं । नेपालको नयाँ नक्साको समर्थन गर्दा अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया जाइलागेका छन् ।उनले गरेको एक ट्वीटका कारण कोइराला विवादमा तानिएकी हुन्।

नेपालले सार्वजनिक गरेको नेपालको नयाँ नक्साको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमसम्मले उनीविरुद्ध गालिगलौज अभियान चलाएका हुन्। मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय। आधिकारिक नक्सा मन्त्रालयले छिट्टै प्रकाशित गर्नेछ ।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

लगत्तै उक्त ट्वीटमा मिश्रित प्रतिक्रियाहरु देखिन थाले। नेपाली ट्वीटर प्रयोगकर्ता मनिषाको पक्षमा र भारतीय विपक्षमादेखिए। भारतीय टिभी च्यानल एबीपी न्यूजले त उनको ट्वीटलाई नै लिएर समाचार बनायो। जसमा लेखियो – ‘भारतको नुन खाएर चीनको गीत गाउने’ यस विषयमा मनिषाले कुनै किसिमक प्रतिक्रिया जनाएकी छैनन्।

भारतले गत नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेको थियो। त्यस समयदेखि विवाद सिर्जना भएको थियो। कोरोना भाइरस संक्रमणको महामारीबीच भारतले लिपुलेकमा आफ्नो सडक उद्घाटन गरेपछि विवाद झनै चर्कियो।

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७७